क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले पुन: कार्यभार सम्हालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाई पाएपछि उनले मंगलबार एक कार्यक्रम बिच कार्याभार सम्हालेका छन् ।
मधेश प्रदेश सरकारका पुर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा गाउँपालिकाका विभिन्न वडा अध्यक्ष, स्थानीय बुद्धिजीवी, जसपा नेता शैलेन्द्र मोहन झा लगायतकाले अध्यक्ष यादवको सफल कार्यकालको शुभकामना दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहले निर्वाचनमा हारजित स्वाभाविक रहेको भन्दै हारको मानसिकताले ग्रस्त भएर जननिर्वाचित प्रतिनिधिमाथि षडयन्त्र गर्नु शोभनीय नहुने बताए । उनले गाउँपालिका अध्यक्ष लगायत सबै जनप्रतिनिधिहरुले एकतावद्ध भएर जनताको लागि विकासीय कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए ।
आयोगले मुद्दा दायर गरेपछि उनी निलम्बनमा रहेका थिए । त्यसपछि उपाध्यक्षले कार्यवाहक अध्यक्षको भूमिका निर्वाह गर्दै आएकी थिइन् ।