क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । चैती नवरात्राको अवसरमा तिलाठी कोइलाडी गाउँपालिका-५ बनरझुल्लामा विष्णु महायज्ञ सुरु भएको छ । सोही अवसरमा त्यहाँ बुधबारदेखि अन्तरराष्ट्रीय कुस्ती (दंगल) प्रतियोगिता सुरू भएकाे छ ।
गत स्थानीय तह निर्वाचनमा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष पदका प्रत्यासी रहेको निरज मुक्तीले बुधबार कुस्ती प्रतियोगिताको उद्घाटन गरेका छन् ।
‘धर्म, संस्कृति र आध्यात्मिकतासँग परम्परागत खेलकूदको माध्यमले समाजमा सकारात्मक परिवर्तन र चिन्तनको सामुहिक प्रयास प्रशंसनीय छ।’ कुस्तीको उद्घाटन गर्दै मुक्तीले भने, ‘कोशीको किनारमा भइरहेको’ यज्ञ, हवन र पुजासाथै सुसज्जित अखाड़ाको दृश्य प्राचिन मिथिलाको परम्परागत दृश्य जस्तै परिलक्षित भइरहेको छ ।’
उक्त कुस्ती प्रतियोगिता तीन दिनसम्म हुने आयोजक समुहका माधवकुमार रायले जानकारी दिए । उनले प्रतियोगितामा भाग लिन नेपाल र भारतका प्रसिद्ध खेलाडीहरू आएको बताए ।
कुस्ती उद्घाटन समारोहमा सोही वडाका वडाध्यक्ष ललन कुमार राउत, सोही पालिका वडा नं १का अध्यक्ष दिनेश्वर मिश्र, सिमारक्षक देवनारायण यादव, नेता निशान्त सिंह लगायत स्थानीयहरूको उपस्थिति रहेकाे थियाे ।