क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । राष्ट्रपति रामचन्द्र पौडेलले तराई मधेशको स्वाभिमान बोकेको सप्तरी जिल्ला पछिल्लो समय विकासमापछाडी परेको बताएका छन् ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरमा मंगलबार पुजा पश्चात् आयोजित अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सप्तरीको समग्र विकासका लागि आफू सप्तरी बासीको साथमा रह्ने बताए ।
राष्ट्रपतिले कृषि क्रान्ति हुने सप्तरी लगायतका जिल्लाहरू सुख्खाको समस्याबाट जुधिरहेको अवस्थामा कोशी कमला डाइभर्सन संचालन भए सुख्खाको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
उनले कोशी कमला डाइभर्सन छिटो भन्दा छिटो संचालन गर्न नेपाल सरकारसँग आग्रह समेत गरे ।
नेपाल र भारतका लाखौँ भक्तजनले श्रद्धा, सम्मान र सुरक्षाको अनुभूति गर्ने स्थल छिन्नमस्ता भगवती मन्दिर रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले आफू अहिलेसम्म तेस्रो पटक र राष्टपतिको हैसियतमा पहिलोपटक छिन्नमस्ता आएको बताए ।
उनले भने,’सप्तरी मेरो मनमुटुमा छ, म सदैव सप्तरीको साथमा छुँ, यहाँको विकासको लागि सरकारलाई घच्घच्याउने छुँ ।’
सो अवसरमा छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी र उपाध्यक्ष राजोदेवी यादवले अभिनन्दन पत्र, दोसल्ला र मिथिलाको पहिरन पाग लगाएर राष्ट्रपतिलाई स्वागत तथा सम्मान गरेका थिए ।
राष्ट्रपति पौडेल छिन्नमस्ता गाउँपालिका अध्यक्षको विशेष आग्रहमा परिवारसहित पुजापाठको लागि छिन्नमस्ता आएका थिए ।