क्रान्ति केन्द्र सम्वाददाता
काठमाण्डौ । बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको समस्या एक महिनाभित्रै अन्त्य हुने बताएका छन् ।
कान्तिपुर मिडिया ग्रुपले वीरगन्जमा आयोजन गरेको ‘वीरगन्जको वाणी’ को पहिलो सत्र बोल्दै उनले लोडसेडिङको समस्या समाधान गर्न २ हजारदेखि २२ सय मेगावट सोलार प्लान्ट थप गर्न लागेको बताए । उनले लोडसेडिङले उद्योगलाई हतोत्साहित नहुन आग्रह गरे ।
विडिङ प्रक्रिया मार्फत सोलार प्लान्ट निजी क्षेत्रलाई खुल्ला गरेको उनले बताए । ‘वीरगन्जमा मात्रै २ सय मेगावटको विड गरेका छौ । सबै उद्योगीलाई सहभागी भएर वीरगन्ज क्षेत्रको जेनेरेसन क्षमता बढाउन आग्रह गर्छु,’ उनले भने, ‘यसले दूई काम – भोल्टेज र जेनेरेसन क्षमता पनि बढाउँछ ।’
घिसिङका अनुसार भारतमा चुनावका कारण दिउसो मात्रै विद्युत् आयात गरिएको छ । राति आयात नहुदा लोडसेडिङ भइराखेको छ । ‘सुख्खा सिजन हो । भारतबाट राति आयात गर्न नसक्दा राति लोडसेडिङको समस्या भएको छ,’ उनले भने, ‘दिउँसो १२ घण्टा विद्युत् दिएका छौँ । राति १२ बजेपछि विहान ६ बजेसम्म विद्युत् आयात गर्न प्रयास गर्देछौँ, त्यो हुँदा १८ घण्टासम्म दिन सक्छौँ ।’