क्रान्ति केन्द्र सम्वाददाता
राजविराज ।नेपाल सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको अनुगमन गरेका छन् । हालको सरकारमा स्वास्थ्यमन्त्री बने पछि शुक्रबार पहिलो पल्ट सप्तरीका आएका उनले अस्पतालको अनुगमन गरेका छन्।
अस्पतालमा निर्माणाधिन भवनहरू तथा इमर्जेन्सी वार्डको अनुगमन गरेका उनले अस्पतालका कर्मचारीहरूसँग छलफल समेत गरेका थिए ।
छलफल क्रममा उनले अस्पतालमा काम गर्ने वातावरण बनाइदिन स्थानीय बासिन्दाहरूलाई आग्रह गरे ।
‘यहाँको अवस्थाले कोही डाक्टर कोही यहाँ आउन चाहँदैनन्, २५ जनालाई भने उहाँहरुले बरू राजिनाम लिइहाल्नुस् त्यहाँ जान नभन्नुस् भन्नुभयो,’ उनले भने, ‘समाजको कमजोरीले डाक्टर रहदैनन्, प्रवृतिलाई बदलनुस्, खासगरी राजविराज वासीले, वातावरणमा परिवर्तन ल्याउनुस् ‘
उनले राजविराजमा निर्माणधिन रामराजप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनालाई अगाडी वढाउने योजना रहेको बताए ।’प्रतिष्ठानको आयोजनालाई अगाडी बढाउने काम यसपालीदेखि हुन्छ, प्रयास हामी गर्छौँ तपाईहरु वातावरण बनाईदिनुस्, जसरी प्रतिष्ठानको लागि आन्दोलन गर्नुभयो काममा पनि सहयोग गर्नु होला ।’