क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । मधेश प्रदेशका निवर्तमान शिक्षा मन्त्री तथा जनमत पार्टीका नेता महेश प्रसाद यादवले आइतबार पुर्वाधार विकास कार्यालय राजविराजका प्रमुख प्रविण प्रताप अधिकारीउपर हातपात गरेको छ ।
दुई वटा योजनाको चिट्ठी आफुले पठाएको व्यक्तिलाई नदिएको भन्दै निवर्तमान मन्त्री यादवले आफुलाई हातपात नै गरेको कार्यालयका प्रमुख अधिकारीले बताए ।
क्रान्ति केन्द्रलाई प्राप्त तस्बिरमा पनि मन्त्री यादवले कार्यालय प्रमुखलाई धकेलिरहेको देख्न सकिन्छ ।
उनी आवेशमा कार्यालय प्रमुखलाई केही भनिरहेको पनि देखिन्छ ।
‘प्रदेश सरकारको रेडबुकमा रहेको राजविराज नगरपालिका- १३पिपराहीमा सामुदायिक भवन निर्माण र सोही वडाको बिषहरीयामा एकनाथको घरदेखि महाबिर स्कूलसम्म आरसीसी ढलानको योजनाको चिट्ठी लिन राजविराज नगरपालिका वडा नं १३का वडा सदस्य चन्द्रिका यादव आउनुभएकी थिइन्,’ उनले भने, ‘मैले दुवै योजना संचालनका लागि कोटेसनको सुचना निकालिसकेको जवाफ उहाँलाई दिएका थिए ।’
त्यसपछि वडा सदस्य यादवले निवर्तमान शिक्षा मन्त्री महेश यादवलाई फोन लगाउँदै कुरा गर्न आफुलाई दिएको बताए । कुरा गर्ने क्रममा निवर्तमान मन्त्रीको आवाज नचिनेको भनेपछि वडा सदस्य यादवले फोन लिएका थिए ।
उनले भने,’त्यसको केही बेरमै निवर्तमान मन्त्री ज्यु आउनुभो, मैले नमस्ते भने उहाँले हातपात गर्न थाल्नुभो।’
निवर्तमान मन्त्री यादवले हातपातको कुरा अस्विकार गरे । उनले प्रदेश सरकारको योजनाको चिट्ठी दलाल मार्फत बिक्री वितरण गर्न थालेपछि आफु आवेशमा आएको बताए । उनले हातपात नगरेको, हल्का ठेलेको मात्रै बताए ।
निवर्तमान मन्त्री यादवले कार्यालय प्रमुख अधिकारीलाई हातपात गरिरहँदा सो कार्यालयमा जनमत पार्टीबाट निर्वाचित प्रदेश सभाद्वय सकिल अली, शम्भु साह तथा जनमत पार्टीकै तर्फबाट निर्वाचित हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख विरेन्द्र माझी समेत सोही कार्यालयमा उपस्थिति थिए ।