क्रान्ति केन्द्र सम्वाददाता
राजविराज ।संघीय सरकारको वन तथा वातावरण मन्त्री नवलकिशोर साह शुक्रबार गृह जिल्ला सप्तरी आइपुगेका छन् ।मन्त्री बनेपछि पहिलोपल्ट गृह जिल्ला आएका उनलाई राजविराज बिमानस्थलमा पार्टीका नेता कार्यकर्ताहरूले भव्य स्वागत गरेका छन् ।
बिमानस्थलबाट उनी राजविराजमा काठ डिपोको उद्घाटन गर्न कार्यक्रमस्थल पुगेका छन् । साह सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका निबासी हुन् । २०७९सालको प्रतिनिधि सभा निर्वाचनमा सप्तरी-१बाट निर्वाचित उनी जनता समाजबादी पार्टी नेपालको तर्फबाट सरकारमा सहभागी भएका छन् ।
यसअघि २०७४मा प्रदेश सभा सदस्यमा निर्वाचित भएका उनी मधेश प्रदेश सरकारको समाजिक विकास मन्त्री रहेका थिए ।
हाल संघमा काँग्रेसलाई हटाउँदै एमालेसँगको नयाँ गठबन्धनमा बनेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा जसपाका दुई मन्त्री छन् ।जसपाको तर्फबाट साह बनमन्त्री हुन भने पार्टी अध्यक्ष उपेन्द्र यादवले उपप्रधान एबम् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व पाएका छन् ।
अहिले सरकारमा एमाले, नेकपा माओबादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजबादी पार्टी र नेकपा समाजबादी सहभागी छन् ।