क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । पछिल्लो एक महिनामा ६५ हजार नेपाली विदेश गएका छन् । वैदैशिक रोजगार विभागको तथ्यांक अनुसार फागुन २०८० मा मात्र ६५ हजार ६ सय ५८ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् ।
चालु आर्थिक वर्ष (आव) २०८०/८१ आठ महिनामा नयाँ तथा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ७१ हजार २ सय १० पुगेको छ । नेपालबाट हरेक दिन औसत २ हजार नेपाली काम खोज्दै विदेशिने गरेका छन् । फागुनमा काम खोज्दै विदेशिनेमध्ये ६ हजार ७ सय ६८ महिला छन् । अघिल्लो वर्ष आठ महिनामा ५ लाख ४० हजार ६ सय ७५ नेपाली विदेशिएका थिए ।
यो वर्ष युनाइटेड अरब इमिरेट्स (यूएई) मा नेपालीको अधिक आकर्षण देखिन्छ । फागुनमा मात्र १८ हजार ७ सय ७ श्रम स्वीकृति यूएईका लागि भएको छ । साउदी अरबमा १३ हजार २ सय ६७, कतार ११ हजार ३ सय ९० र मलेसियामा ८ हजार ४ सय १७ श्रम स्वीकृति जारी भएको तथ्यांकमा देखिएको छ ।
यो महिना कुवेतमा मात्र ३ हजार २ सय ६, जापान १ हजार ३ सय ६०, कोरिया ७ सय ३०, रोमानिया १ हजार ७ सय ८४, मौरिसस ८ सय ५९ र क्रोएसियामा ९ सय १५ श्रम स्वीकृति जारी भएको विभागले जनाएको छ ।