क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको कार्यालयमा बिहिबार गरिएको तालाबन्दीप्रति पाँच वटा पत्रकारका संगठनले आपत्ति जनाएको छ ।
प्रेस युनियन,प्रेस मञ्च, प्रेस चौतारी, प्रेस सेन्टर र समाजवादी प्रेस संगठनको सप्तरी जिल्ला अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गर्दै शुद्धिकरणमा परेकामध्ये केहि व्यक्तिले गरेको तालावन्दीप्रति आपत्ति जनाएका छन् ।
केन्द्रीय कार्यालयले देशभर शुद्धिकरण गर्ने अभियान चलाएपछि सप्तरी शाखाले पनि चलाएको भन्दै विज्ञप्तिमा भनिएको छ,’जसको हामी सबै संगठनले समर्थन पनि गरेका हौं। शाखाको शुद्धिकरण निर्णयपछि कतिपयले प्रदेश समितिमा उजुरी पनि दिएका थिए । प्रदेशले सिफारिस गरी केन्द्रमा बुझाउँदा पनि कनिपयले उजुरी हालेका छन् । केन्द्रले अहिलेसम्म सदस्यता निक्यौल गरि नसकेको अवस्था विद्यमान छ ।
अझ स्वेच्छाले सदस्यता परित्याग गरेकाहरु पुनः आफ्नो सदस्यता कायम रहनुपर्छ भनी ढिपी कस्नु नैतिकताको विषय हुनै सक्दैन् । पत्रकार महासंघ, विशुद्ध पत्रकारहरुको मात्र संस्था बन्नुपर्नेमा हामी प्रनिवद्ध छौं । यो पेशा छाडेर अन्य पेशामा गएकालाई आफै सदस्यता त्याग गर्नुपर्नेमा सदस्य रहन पाउँ भन्नु न्यायसंगत हुन सक्दैन् ।’
यस्तै, विज्ञप्तीमा सप्तरी शाखाले साधारणसभा गर्ने मिति निर्धारण गरिसकेपछि केन्द्रले रोक्न निर्देशन दिएको भन्दै सदस्यता कायम गराउने र साधारण सभा गर्ने अधिकार अहिले शाखालाई नभएको यी संगठनहरुले बुझ्न आग्रह गरेको छ ।
‘नयाँ सदस्यता दिने विषयमा महासंघले प्रक्रिया अगाडी बढाइसकेको भनि महासंघको विज्ञप्तीबाट यसअघि नै सार्वजनिक भईसकेको छ। तर, तालावन्दीले उक्त काम पनि प्रभावित हुने देखिएको छ ।’ विज्ञप्तीमा भनिएको छ,’महासंघले मागलाई सकारात्मक लिदै एक चरणको वार्ता पनि गरेको हामीलाई अवगत भएको छ । अर्को चरणको वार्ता वसी समस्या समाधान गर्नुपर्नेमा त्यसतर्फ ध्यान नदिई एक्कासी ताला नै लगाउनु ठीक होइन् ।’
असहमति भए वार्ता र सम्वादको माध्यमले समाधान खोज्नुपर्नेमा वा अन्य रचनात्मक आन्दोलन गर्नुपर्नेमा सोझै कार्यालयमा ताला लगाउनु न्यायसंगत हुन नसक्ने उनीहरुको ठहर छ ।
उनीहरूले कार्यालयमा लगाइएको ताला खोली वार्ता र सम्वादको माध्यमले अघि बढ्न सम्बद्ध पक्षसँग विज्ञप्ती मार्फत माग समेत गरेका छन् ।
बिहिबार महासंघका पुर्व अध्यक्ष विष्णु कुमार मण्डल, जितेन्द्र खड्गा र वरिष्ठ पत्रकार शिव नारायण साह सुरजको नेतृत्वमा पुगेका पत्रकारहरुले कार्यालयमा तालाबन्दी गरेका थिए ।
पत्रकारिता क्षेत्रमा योगदान गरेका वरिष्ठ पत्रकार तथा क्रियाशिल पत्रकारहरुको नाम सदस्यताबाट हटाउने सूचीमा राखी सिफारिस गरेको विरुद्धमा महासंघको कार्यालयमा तालाबन्दी गरिएको पुर्व अध्यक्ष जितेन्द्र खड्गाले बताएका थिए ।
त्यसअघि नेपाल पत्रकार महासंघ शाखा सप्तरीले तीन बर्ष वितिसक्दा पनि एकपटक पनि साधारणसभा नगरेको, सदस्यता सुद्विकरणको नाममा पक्षपात गरि सदस्यता नविकरण नगरेको, योग्य पत्रकारहरुलाई सदस्यता प्रदान नगरेको र साधारणसभाको मिति ३ दिनभित्र घोषणा गरि महासंघमा कायम सम्पुर्ण सदस्यहरुलाई सहभागी गराउन माग गर्दै तीन दिने अल्टिमेटमसहित महासंघका अध्यक्ष श्रवण कुमार देवलाई यस अघि उनीहरुले ज्ञापनपत्र बुझाएका थिए ।