क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । आज महाशिवरात्रि पर्व महाशिवरात्रि पर्व मनाइँदै छ । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ । सप्तरी लगायत देशैभरि बिहानैदेखि शिवालयहरुमा दर्शनार्थी भक्तजनको घुइँचो लागेको छ ।
बिहानैदेखि सप्तरीको शम्भूनाथ, राजदेवी मन्दिर परिसरमा रहेको शिव मन्दिर, महादेवाको अंकुरीनाथ, बलुवाको शिवमन्दिर, तिलाठीको नर्मदेश्वरनाथ मन्दिरमा लगायत शिवालयहरुमा भक्तजनहरुको भिडभाड लागेको छ ।
त्यस्तै, काठमाडौं स्थित पशुपति मन्दिरमा साधुसन्त एवम् भक्तजनहरुको भिड लागेको छ । पशुपति परिसर एवम् बाग्मती किनारामा गएरातिदेखि नै दर्शनार्थी एवम् भक्तजनको घुइँचो छ । बिहान २ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको पशुपति विकास कोषले जनाएको छ ।
पशुपतिमा शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आउने गरेका छन् । यस वर्षको महाशिरात्रिमा कम्तीमा २० लाख जना भक्तजनले पशुपतिको दर्शन गर्ने अनुमान गरिएकोछ । पशुपति क्षेत्रमा गाँजा, भाङ, जाँड–रक्सी तथा मासु पूर्णरूपमा निषेध गरिएको छ ।
आज पशुपति पुग्ने भक्तजनका लागि एम्बुलेन्स सेवा, झन्डै छ सय जना स्वयंसेवक, ७० वटा स्वास्थ्य शिविर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी परिचालन गरेको छ ।