क्रान्ति केन्द्र सम्वाददाता
निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीलाई मान्यता नदिने निर्णय गरेको छ । बिहीबार बसेको आयोगको बैठकले चौधरीलाई दलको सदस्य बन्न अयोग्य ठहर गरेको हो ।
हालै पार्टीको महाधिवेशनबाट आफू अध्यक्षमा चयन भएक चौधरीले अध्यावधिकका लागि आयोगमा निवेदन दिएका थिए । उक्त निवेदनमाथि अध्ययन गर्दै आयोगले चौधरीलाई दलको सदस्य नै रहन नसक्ने ठहर गरेको हो ।
चौधरी ७ भदौ २०७२ सालमा कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा दोषी ठहर भएका थिए । राष्ट्रपतिबाट आममाफी पाएसँगै उनी जेलमुक्त भएका थिए । टीकापुर हत्याकाण्डमा एक नाबालकसहित आठ प्रहरीको निर्मम हत्या भएको थियो ।
टीकापुर हत्याकाण्डपछि फरार रहेका रेशमले पछि कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । रेशमलाई दोषी ठहर गर्ने कैलाली जिल्ला अदालतको फैसला उच्च हुँदै सर्वाच्चले पनि सदर गरेको थियो । रेशमले आफू जेलमै रहेका बेला श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष र आफू संरक्षक रहने गरी नाउपा गठन गरेका थिए ।