क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सघन सहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सीडीई) सचिन्द्र कुमार देवसहित चारजनाविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धन आयोगले आयोजना प्रमुख देव, तत्कालीन इन्जिनियर मदन राय र सव-इन्जिनियर सरोज कुमार यादव तथा गुन्जा कन्सट्रक्सन, खडक-८, सप्तरीका प्रोपराइटर गोविन्द प्रसाद मंडलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका-४ स्थित मधवापुर अन्तर्गत सहरी विकास कार्यलय राजविराजद्वारा मधवापुर वडा कार्यालयदेखि अर्जी टोलसम्म लगभग ३०० मिटर दुरीमा कालोपत्रे बाटो निर्माण विना टेन्डर भएको, होडिङ बोर्ड नलगाएको र निर्माण कार्य राम्रो नगरेको उनीहरूविरुद्ध उजुरी परेको थियो।
अख्तियारले उक्त मुद्दामा छानबिनगर्दा सम्झौतासमेतमा हस्ताक्षर गरेको, कम काम गरी बढी प्राविधिक मूल्याङ्कन सहितको नापी किताब, ठेक्का बिल, अन्तिम नापी किताब, कार्य स्वीकार प्रतिवेदनसमेत प्रमाणित गरी निर्माण व्यावसायीलाई ३ लाख ४७ हजार बढी भुक्तानी दिएको देखिएको भन्दै उत्तिकै रकम बिगो र कैद मागदाबीसहित तीनै कर्मचारी उपर मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।
कन्सट्रक्सन प्रोपराइटर मंडलले सम्झौता बमोजिमको कार्य नगरी गरेको कार्यभन्दा बढी मूल्याङ्कन गराई भुक्तानी लिएको ठहर गर्दै ३ लाख ४७ हजार रुपैयाँ बिगोसमेत जफत हुन मागदाबी मुदा दायर गरेको छ ।