क्रान्ति केन्द्र सम्वाददाता
राजविराज ।छोरालाई अपहरण गरेको भन्दै धम्की दिएर पैसा ठगेको तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–६ मा बस्ने २६ वर्षीय सविन मैनाली, सोही नगरपालिकाको वडा नं. १० मा बस्ने २७ वर्षीय शुभम मैनाली र सुनसरीको धरान उप महानगरपालिका–३ बस्ने १९ वर्षीया आशिका बराइली रहेका छन् ।
उनीहरुले गत फागुन ५ गते सप्तरीको राजविराज नगरपालिका – ७ बस्ने एकजनालाई +९२३२५०१६९१३५ नम्बरको ह्वाट्सएपबाट कल गरी ‘तपाईंको छोरा मेरो कब्जामा छ, छोरा चाहिन्छ भने मैले भने बमोजिम रकम पठाउनुस्, यो कुरा अन्य कसैलाई जानकारी गराएमा तपाईंको छोरालाई मारी दिन्छु’ भन्दै धम्की दिएका थिए ।
यसरी डर त्रास देखाई विभिन्न व्यक्तिहरूको फरकफरक खातामा १२ लाख ८० हजार रुपैयाँ जम्मा गर्न लगाएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महतोले बताए ।
यस विषयमा अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट परिचालित प्रहरी टोलीले ठगीमा संलग्न देखिएका उनीहरूलाई फागुन १८ गते पक्राउ गरेको हो । उनीहरूले ह्वाट्सएपको प्रोफाइल पिक्चरमा प्रहरी वरिष्ठ अधिकृतको फोटो समेत दुरुपयोग गरेको देखिएको महतोले जानकारी दिए ।
पीडितको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा ठगी (अनलाइन) शीर्षकमा मुद्दा दर्ता गरी गत शुक्रबार पक्राउ गरेको उनीहरूलाई जिल्ला अदालत सप्तरीबाट अनुसन्धानको लागि दिन ७ म्याद थप गरी अनुसन्धान भइरहेको महतोले बताए ।