क्रान्ति केन्द्र सम्वाददाता
काठमाडौं । सत्ता गठबन्धनको नयाँ समिकरण बनेसँगै धमाधम बैठक तथा छलफल भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरु सहभागी बैठकले मन्त्रिपरिषदमा सहभागी हुनेहरुको नामावली प्रधानमन्त्रीलाई बुझाउने सहमति भएको छ ।
प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले एमाले र रास्वपालाई समेट्दै मन्त्रिपरिषद पुनर्गठन हुन लागेको र त्यसका लागि प्रधानमन्त्री प्रचण्डले एमाले र रास्वपाका नेताहरुसँग छलफल गरको बताए । प्रधानमन्त्री प्रचण्डले जसपासँग पनि मन्त्री बन्नेहरुको नाम मागेको जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले अहिलेको मन्त्रिपरिषदको पूरै सेट परिवर्तन गरेर तत्काललाई सानो आकारको मन्त्रिपरिषद गठनको तयारी गरेका छन् ।
प्रदेशका मुख्यमन्त्रीहरु आलोपालोको आधारमा अगाडि बढाउने पनि सहमति जुटेको छ ।नयाँ गठबन्धनमा एकीकृत समाजवादीलाई पनि समेटेर लैजान पहल गर्ने माओवादीको निर्णय छ ।
प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरुलाई राप्रपालाई गठबन्धनमा नलिने सहमति भएको बताए ।संसदको सबभन्दा ठूलो दल कांग्रेस बाहेक अरु दल गठबन्धनमा आउनसक्ने प्रधानमन्त्रीको कथन छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि एजेण्डा पनि नमिल्ने भएकाले राप्रपालाई गठबन्धनमा नलिने समझदारी भएको बताएका थिए ।
यता नागरिक उनमुक्ती पार्टी सरकारमा जाने मुडमा रहेको देखिएको छ भने जनमतले सरकारमा रहने,नरहने बिषयमा अन्यौलता कायम छ ।