क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । विश्व बैंकले नेपाललाई २० करोड डलर ऋण दिने भएको छ । बैंकको कार्यकारी निर्देशक समितिले नेपालका २ वटा परियोजनाको लागि २० करोड डलर ऋण स्वीकृत गरेको छ ।
वित्तीय सुधारका लागि १० करोड डलर र प्रादेशिक तथा ग्रामीण सडक सञ्जाल मर्मत तथा सुधारका लागि १० करोड डलर ऋण विश्व बैंकले दिने जनाइएको छ ।
विश्व बैंकको तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि आवासीय निर्देशक फारिस हदाद जर्भोसले सेवा र पूर्वाधारको क्षेत्रमार्फत नयाँ परियोजनाहरूले नेपालका मानिसहरूको जीवनस्तर सुधारमा सहयोग पुर्याउने बताए ।
यस परियोजनाले जलवायु केन्द्रीत पूर्वाधार खर्च बढाउन, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रवर्द्धनका लागि नेपालको न्यूनतम एफडीआई थ्रेसहोल्ड कम गर्न र एफडीआईको प्रक्रिया सुव्यवस्थित र स्वचालित गर्न पनि भूमिका खेल्ने विश्व बैंकको कथन छ ।