प्रवेश मिश्र
राजविराज । दुग्ध उत्पादक कृषकहरूको समस्या समाधानको लागि दुग्ध उत्पादक सहकारी संघ लिमिटेड आन्दोलनमा उत्रेका छन् ।त्यसको निर्धारित कार्यक्रम अनुसार दुग्ध उत्पादक सहकारी संघ लिमिटेड, महुली सप्तरीले मंगलबार सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।उनीहरुले मागको चर्को नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यलय अगाडि धर्ना समेत दिएका थिए ।
ज्ञापन पत्र मार्फत दुधको भुक्तानी रोक्ने, नेपाल सरकारले तोकेको मुल्य भन्दा कम आफुखुशी मुल्य तोक्ने, नियमित रुपमा दुध खरिद नगर्ने जस्ता समस्या समाधान गरिदिन माग गरिएको छ ।
यी समस्याहरु उल्लेख गर्दै पत्रमा भनिएको छ, ‘जिल्ला दुग्ध उत्पादक सहकारी संघले विभिन्न सरोकारवाला निकाय संग छलफल गरि यो समस्याको समाधान गर्न जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. सप्तरी समेतको सहभागितामा केन्द्रीय दुग्ध सहकारी संघ लि. नेपालले दुग्ध उत्पादक कृषकहरुले दुध बिक्री वापत पाउनुपर्ने रकम भुक्तानी लगायतका विषयमा नेपाल सरकार संग मिति २०८० मंसिर २६ गते सम्झौता भएकोमा उक्त सहमति कार्यान्वयन नभएको हुँदा यस जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. सप्तरीले नेपाल सरकारको ध्यानाकर्षण गराई तुरुन्त उक्त सम्झौता कार्यान्वयनको लागि माग गर्दै यो ज्ञापन पत्र पेश गरेको छौ ‘
संघले विगत ८ महिना अघि देखि सरकारी स्वामित्वको विराटनगर दुग्ध वितरण आयोजना लगायत अन्य निजि डेरी उद्योगीहरुले बक्यौता राखेको ८ करोड भन्दा बढिको भुक्तानी यथाशिघ्र दुग्ध किसानहरुलाई गराइदिन माग राखेका छन् । साथै आफुखशी राखिएको मुल्य खारेज गरि नेपाल सरकारले तोकेको मुल्य कायम गर्न पनि माग गरेका छन् ।
भन्सार विभागको तथ्यांक अनुसार २०८० श्रावण देखि पौष मसान्त सम्म एक अर्ब त्रिचालिस करोड उनानब्बे लाख तेइस हजारको दुग्ध जन्य पदार्थ आयात भएको देखिएको भन्दै सो पुर्ण बन्द गराई स्टकमा रहेका दुग्ध जन्य पदार्थलाई अन्तराष्ट्रिय बजारमा अबिलम्व बिक्री गर्ने व्यवस्था गर्न संघले माग राखेका छन् ।
त्यस्तै सहुलियत कृषि कर्जामा एवं रोकिएको ब्याज कृषि अनुदान कार्यक्रम उपलब्ध गर्न, विगतमा दिईदै आएको दुध लिटर अनुदान कम्तिमा रु. १० सबै पालिकामा सबै किसानले पाउने गरि लागू गर्न , पशु आहारा, पशु औषधी लगायत पशुपालन संग सम्बन्धित वस्तुका मुल्य राज्यबाट अविलम्ब नियन्त्रण गर्न, बिमा कार्यक्रमलाई प्राथमिकतामा राखी बिमाको दाबी भुक्तानी सहज बनाउन माग राखेका छन् ।
निर्यातित दुग्ध जन्य पदार्थहरुमा अनुदानको व्यवस्था अबिलम्ब गर्न, दुध तथा दुग्ध पदार्थ निर्यातको लागि खोरेत लगायतका रोग मुक्त घोषणा गर्न, सिमा क्षेत्रवाट अबैध रुपमा भित्रि रहेको दुध तथा दुग्ध जन्य पदार्थको तस्करी बन्द गर्न, गुणस्तरिय दुध उपभोक्ता समक्ष पुर्याउनका लागि आवश्यक प्रबन्ध गर्न,. पशु आहार पराल भूस आदीको ढुवानीमा ट्राफिक प्रहरीले दिने अनावश्यक दुःख अन्त्य गर्न समेत माग ज्ञापनपत्र मार्फत राखेका छन् ।
ज्ञपान पत्र बुझेपछि धर्ना स्थलमा पुगेर सप्तरीका सिडिओ किरण थापाले लोकल लेभलबाट हुने समाधान आफुले गर्ने र माथिबाट हुनेको कामको लागि तत्काल पहल गर्ने आश्वासन दिए ।
सिडिओको आश्वासन पश्चात आन्दोलनकारीले धर्नालाई बिराम दिएका थिए ।यद्यपी बिहिबार बिहान १२ बजेदेखि १ बजेसम्म शान्तिपूर्ण तरिकाले पूर्व पश्चिम राजमार्गको महुली खण्डमा दुध पोखेर १ घण्टा चक्का जाम गर्ने आन्दोलनको कार्यक्रम रहेको जनाएका छन् ।
त्यसपछि माग पुरा नभएसम्म केन्द्रीय दुग्ध सहकारी संघ लि. नेपालले आव्हान गरेका अन्य सबै आन्दोलनमा सहभागी हुने साथै फाल्गुन २१ देखि माईतिघर मण्डलामा हुने धर्ना तथा बिरोध प्रदर्शन जारी राख्ने संघका सप्तरी अध्यक्ष दिपेन्द्र कुमार आचार्यले बताए ।

