क्रान्ति केन्द्र सम्वाददाता
काठमाडौं ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले चार मन्त्रीको राजीनामा माग गरेको छ ।
आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिकमन्त्री सुदन किराँती र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ ।
प्रमुख सचेतक गिरीले बालकुमारी घटनामा दोषी देखिएका मन्त्री ज्वाला, युवामाथि गोली प्रहार गर्न आदेश दिने गृहमन्त्री श्रेष्ठ, अख्तियारको छानबिनमा रहेका स्वास्थ्यमन्त्री बस्नेत,
रामग्रामको जग्गा भाडामा लगाउने विवादास्पद निर्णय गर्ने पर्यटनमन्त्री किराँतीले तत्काल राजीनामा दिन आवश्यक रहेको बताए ।
उनले नेकपा एमालेले फागुन ६ गतेदेखिका बैठकमा सरकारको जवाफ माग गरेपनि सरकारले बेवास्ता गरिरहेको बताए। प्रतिपक्षले माग उठाउँदा सरकारले माग सम्बोधन गर्ने हो भने वेल घेर्नुपर्ने ठाउँमा पुग्नु नपर्ने बताए ।