प्रवेश मिश्र
राजविराज । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी, प्रशासनमा कतै समस्या भए सरकारलाई खबर गर्न जनतासँग आग्रह गरेको छ ।
शनिबार सप्तरीको कल्याणपुरमा खडक बहुमुखी क्याम्पस भवनको उद्घाटन तथा भूमिहिन सुकुम्वासीलाई लालपुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो मन्तब्य राखे ।
‘प्रहरी प्रशासन जनताको सेवाको निम्ति हुनुपर्छ, हामीले कडाइ पुर्वक निर्देशन दिएका छौँ,’ गृहमन्त्री श्रेष्ठले भने, ‘प्रहरी, प्रशासनमा कतै समस्या देख्नु भएको छ भने हामीलाई खबर गर्नुस्, उहाँहरुलाई पनि सचेत गर्नुस् ।’
सार्वजनिक जग्गा कब्जा गर्ने काममा संलग्न जोकोहीलाई कारबाही गर्न र जग्गा सरकारको नाममा ल्याउन प्रशासनलाई निर्देशन दिइसकेको गृहमन्त्री श्रेष्ठले बताए ।
उनले सप्तरीमा पनि सार्वजनिक जग्गा गैरकानुनी रुपमा कब्जा गरेको जानकारी प्राप्त भएको बताउँदै त्यसमाथि कानुन प्रक्रिया अगाडि बढाउन प्रहरी प्रशासनलाई निर्देशन दिइसकेको बताए ।
उनले सबै मिटर ब्याज पीडितहरुलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको बताए । यद्यपी ऋण दिएका साहुहरुले आफ्नो पैसा नपाउने पनि सरकारको सोच नरहेको स्पष्ट पारे । गृहमन्त्री श्रेष्ठले ऋण दिएका साहुहरुले उचित रकम पाउने बताए ।