क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । मधेश प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतले तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल र सिनियर डिभिजनल इन्जिनियर भगवान झालाई दोषी ठहर गरेको छ।
उक्त कार्यक्रममा १० करोड ३३ लाखभन्दा बढी अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दामा बिहीबार विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवरको इजलासले तत्कालीन प्रदेश सचिव भुसाल र सीडीई झालाई दोषी ठहर गरेको हो । अदालतले भुसाल र झालाई समान भ्रष्टाचार निवारण एनको दफा ८ (१) (ञ) बमोजिमको कसूरमा ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको छ ।
विशेष अदालतका उपरजिष्टार धनबहादुर कार्कीका अनुसार सो मुद्दाका आरोपितहरु सहलेखापाल राजाराम मण्डल, भण्डार/जिन्सी शाखा प्रमुख रामस्वार्थ महत्तो, भण्डार शाखाका खरिदार जितमोहनकुमार दास, ओम सत्य साई प्रा.लि. वीरगन्ज, पर्सा र संस्थाका प्रबन्ध निर्देशक रेनु अग्रवालले भने सफाई पाएका छन् ।
गत साउन १८ गते साइकल खरिदमा सम्झौताविपरीतका ब्रान्ड नखुलेका कमसल लेडिज साइकल आपूर्ति गरी १० करोड ३३ लाख ७५८ नोक्सान पुर्याएको भन्दै अख्तियारले उनीहरुविरुद्ध गत मा मुद्दा दर्ता गरेको थियो ।