प्रवेश मिश्र
राजविराज । जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त (सीके) राउतले शासन व्यवस्थामा सुधार ल्याउन आन्दोलनको विकल्प नरहेको बताएका छन् ।
शनिबार राजविराजमा पत्रकार सम्मेलन गर्दै उनले शासन व्यवस्था उत्कृष्ट भएपनि यसको कार्यान्वयन स्वतन्त्र रुपले नभइरहेको बताएका छन् ।
उनले शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा ओली र माधवकुमार नेपाललाई अंकित गर्दै मन्त्रीपरिषद चार नेताको चंगुलमा रहेको बताए । उनले संसद तथा मन्त्रिपरिषदमा यिनकै निर्णयमा प्रत्येक काम हुने गरेको तथा अन्यको कुनै कुरा पनि नचल्ने गरेको बताए। राउतले आफुहरु संसदमा चाहेर पनि कुनै काम गर्न नसकिरहेको बताए ।
प्रधानमन्त्री, राष्ट्रपति (कार्यकारिणी) प्रत्यक्ष निर्वाचित हुनु पर्ने व्यवस्था ल्याउनु आवश्यक रहेको राउतको भनाई छ । उनले प्रधान न्यायधीश, निर्वाचन प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक निकायका प्रमुखको नियुक्ती राजनीतिक नभई जनताको मतले खुला प्रतिस्पर्धाबाट हुनुपर्ने बताए । यस्ता प्रमुखलाई तानाशाही हुन नदिन जनताकै मत संकलन गरि पदबाट हटाउन सक्ने कानुन पनि आवश्यक रहेको बताए ।
उनले यसको लागि सडकमा आन्दोलन गर्नैपर्ने अवस्था आइसकेको बताए ।
‘अहिलेको सत्ताधारी शासक पहिले भन्दा बढी प्रतिगामी छन्, अधिकार दिन चाहिरहेको छैनन्,’ उनले भने, ‘आन्दोलनको लागि सवैलाई तयार रहनु आवश्यक छ, आन्दोलन गर्नै पर्छ ।’
‘सरकारबाट निकाल दिन्छ भने डर छैन्’
अहिलेको अवस्थामा जनमत सरकारमै बस्ने कि निस्किने सन्दर्भमा उनले सरकारबाट आफै नबाहिरिने बताएका छन् । उनले सरकारमा रहनु पनि आफ्नो अधिकार रहेको बताए । यद्यपी उनले सरकारमा बस्नैपर्ने सोच आफ्नो पार्टीको नरहेको बताए ।
‘हामी सरकारमा रहेरपनि गलत कदममा साथ दिइरहेको छैन्, हामीले उपराष्ट्रपतिमा पनि उम्मेदवार उठाएको थियौँ, राष्ट्रिय सभामा पनि उम्मेदवार उठाएका छौँ’, उनले भने, ‘हामीलाई सरकारबाट निकाल दिन्छ भने डर छैन्, तर त्यहाँ बसेसम्म जनताको बढी भन्दा बढी काम गर्ने प्रयासमा छौँ ।’