सिरहा । सञ्चारकर्मी विनय आजादले अहिलेका कुनै दलबाट मधेशको मुक्ति सम्भव नरहेको बताएका छन् । मधेश आन्दोलनका सहिदको सम्झनामा शुक्रबार लहानमा आयोजित बलिदानी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मधेशका नाममा थुप्रै दलहरू राजनीति गरिरहेको भएपनि उनीहरूको चरित्र र गतिविधिले उनीहरूबाट मधेशको मुक्ति सम्भव नरहेको प्रष्ट भइसकेको उनको भनाइ छ । मधेशलाई अब नयाँ ढंगबाट अगाडी लैजानुपर्ने भन्दै उनले यसका लागि नयाँ पुस्ता तयार हुनुपर्ने बताए ।
‘मधेशका नाममा जति पनि दलहरू अहिले राजनीति गर्दैछन्, उनीहरू मधेशलाई मुक्ति दिलाउन, सहिदका सपना पूरा गर्न असक्षम छन् भन्ने कुरा उनीहरूकै चरित्र र गतिविधिले प्रष्ट्याइसकेको छ,’ उनले भने, ‘त्यसैले अब नयाँ पुस्ता तयार हुनुपर्छ ।’
एकल जातीय नश्लीय राज्यसत्ताले नचाहँदा नचाहँदै मधेश आन्दोलनको बलमा प्राप्त सकारात्मक उपलब्धिको प्रवर्द्धन गर्दै मुल संघर्षका लागि तयार हुनुपर्ने उनले बताए । राज्यसत्ताको स्वभाव नै क्रूर हुने भएकाले यसले सहजै केही पनि नदिने भन्दै खोसेर लिनुपर्ने उनले धारणा राखे ।
राज्यसत्तामाथि कब्जा जमाउन पहिले ज्ञानसत्तामा पहुँच आवश्यक रहेको उनले औल्याए । ज्ञानसत्तामाथि कब्जा भए राज्यसत्तामाथि स्वत: कब्जा हुने, त्यसपछि मधेशको मुक्ति पनि सम्भव हुने उनले दावी गरे ।