काठमाडौं । काठमाडौंमा बलिदानी दिवस मनाइएको छ । मधेस आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहिदहरूको सम्झना र सम्मानमा काठमाडौंमा पनि बलिदानी दिवस मनाइएको हो ।
तराई मधेश राष्ट्रिय परिषदले तीनकुनेमा आयोजना गरेको १७औं बलिदानी दिवसमा शहिदको स्मरण गर्दै दीप प्रज्वलन गरिएको थियो । कार्यक्रममा वक्ताहरूले रमेश महतोलगायतका शहिदले मधेशको मुक्तिका लागि बलिदानी दिएपनि राजनीतिक दलहरूको बेइमानीका कारण यो सवाल ओझेलमा परेको बताएका छन् ।
आन्दोलनबाट प्राप्त उपलब्धिको संस्थागत र संरक्षण गर्दै मधेश मुक्तिको लडाईलाई जारी राख्नुपर्ने उनीहरूले धारणा राखे । कार्यक्रममा सीएन थारू, गुन्जन झा, बिटु मिश्र, दीपक गुप्ता, नवीन कोइराला, मनीष मण्डललगायतले मन्तव्य राखेका थिए ।
२०६३ माघ १ गते सुरु भएको मधेश आन्दोलनको क्रममा माघ ५ गते रमेश महतोले सिरहाको लहानमा शाहदत प्राप्त गरेका थिए । त्यसपछि झनै चर्किएको मधेश आन्दोलनले राज्यलाई विवश तुल्यायो ।
यसै दिनको सम्झनामा हरेक माघ ५ गतेलाई मधेशीहरूले बलिदानी दिवसको रूपमा मनाउँदै आएका छन् । आज काठमाडौंसँगै लहान, वीरगञ्ज, जनकपुर, राजविराजलगायत मधेशका विभिन्न स्थानमा पनि बलिदानी दिवस मनाइएको छ ।