क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । राजविराज नगरपालिकामा कर्मचारी हाजिरी गरेर कार्यालयमा नबस्ने गरेको लगायतका मागसहित आन्दोलित जनप्रतिनिधिहरुले दोस्रो दिन पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । शुक्रबार उनीहरुले राजविराज नगरपालिका कार्यलय अगाडि एक घण्टा धर्ना दिँदै आन्दोलनलाई निरन्तरता दिएका छन् । शुक्रबार मधेश प्रदेशमा सार्वजनिक विदा भएपनि जनताको माग सम्बोधन गराउन आफ्नो आन्दोलनलाई निरन्तरता दिएको आन्दोलन समितका संयोजक वडा सदस्य रमानन्द देवले बताए । उनले सात दिने धर्ना कार्यक्रम रहेको बताउँदै त्यसपछि पनि सुनवाई नभए अगाडिको कार्यक्रम घोषणा गर्ने बताए ।
उनीहरूको कार्यालयमा कर्मचारी नबस्दा आम जनता सेवा सुविधाको लागि भौंतारिनुपर्ने अवस्था आएकाले शाखामा कर्मचारी कार्यालय समय अवधिभर अनिवार्य बस्नुपर्ने व्यवस्था मिलाउनुपर्ने, बर्षैदेखि आफ्नै जग्गा बेचबिखन गर्न नपाउनुका साथै ऋण समेत उठाउन नपाएका हजारौं घर परिवार बिटौरी जग्गाबालालाई अबिलम्ब जग्गाधनी पूर्जा उपलब्ध गराउन पहल गर्नुपर्ने र तत्काल उपलब्ध गराउन नसकिए जग्गाबालाले आफ्नो जग्गा धितो राखी ऋण पाउने व्यवस्था मिलाउन पहल गर्नुपर्ने माग गरेका छन् ।
यस्तै,नगरसभाबाट पारित यस बर्षका योजनाको एकसाताभित्र सम्झौता गरी कार्य सुचारु गर्नुपर्ने, नगर क्षेत्रभित्र सरसफाईलाई उच्च प्राथमिकता राखी सोको स्थायी व्यवस्थापनका लागि थप सबारी साधन, नगर क्षेत्रको चारैतर्फ रहेका भलुवाही ढल निकासको व्यवस्थापन र डम्पिङ साइटको अबिलम्ब व्यवस्थापन गर्नुपर्नेसहितका माग उनीहरुको रहेको छ ।
नगरपालिकाका वडा सदस्यहरुले २२ पुसमा सात बुँदे माग राख्दै कार्यबाहक प्रमुख इसरत परबिनलाई ज्ञापनपत्र बुझाएका थिए । एक साताको अल्टिमेटम दिएर ज्ञापन बुझाएपनि कुनै चासो नलिएपछि २९ पुसमा संघर्ष समिति बनाएर उनीहरूले आन्दोलनको घोषणा गरेका थिए ।४माघबाट उनीहरुले आन्दोलाई निरन्तरता दिएका छन् ।