क्रान्ति केन्द्र सम्वाददाता
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले सहकारीलाई समाजवादको भ्रूण खडा गर्ने, सामूहिकता र तल्लो वर्गको हितमा केन्द्रित गर्ने गरी ऐनमा नै व्यवस्था हुनुपर्ने बताउँदै दीर्घकालीन र तत्कालीन उपाय अपनाएर सहकारीहरूलाई व्यवस्थित बनाउनुपर्ने बताए । प्रधानमन्त्रीले सहकारीको समस्या समाधानका सम्बन्धमा तत्कालीन र दीर्घकालीन ढंगले आवश्यक गृहकार्य गर्न सरोकार मन्त्रालय र निकायलाई निर्देशनसमेत दिए ।
उनले सहकारीको अनुगमनका लागि प्रभावकारी नियामक निकाय बनाउनुपर्ने विषयमा आफ्नो ध्यान गएको भन्दै सहकारी सम्बन्धी हाल कार्यरत नियामक संस्थाहरूलाई राम्रा, सङ्कटमा रहेका र डुबेका सहकारीहरूको वर्गीकरण गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएका छन् ।