क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । जनमत पार्टीका अध्यक्ष तथा सप्तरी क्षेत्र नं २का सासंद डा. चन्द्रकान्त(सीके) राउत सप्तरीमा आफूले गरेको कामको श्रेय अरुले लिइरहेको भन्दै आक्रोश पोखेका छन ।
सोमबार उनको सचिवालयले समाजिक संजाल(फेसबुक)मा एक पोस्ट लेख्दै आक्रोश सार्वजनिक गरेका छन् ।
उनले जनमत पार्टीले मेहनत गरेर आफ्नो निर्वाचन क्षेत्रमा बजेट ल्याउने गरेको तर त्यहाँ कार्यक्रम हुँदा प्रमुख अतिथिमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई बोलाउने गरेकोप्रति आक्रोश पोखेका छन ।
‘दिनरात एक गरेर सप्तरी निर्वाचन क्षेत्र नं. २ मा मधेश कृषि विश्वविद्यालयलाई ३० करोड बजेट हाल्न लगाउने जनमत पार्टीले, अनि कार्यक्रम हुँदा सप्तरी निर्वाचन क्षेत्र नं. २ मा प्रमुख अतिथि जसपाका अध्यक्षलाई बोलाउने? (किन, के को लागि? के त्यो उहाँको निर्वाचन क्षेत्र हो?)’ उनको पोस्टमा प्रश्न गरिएको छ ।
उनले राज रंगशाला, रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशदेखि बजेट विनियोजनाहित दर्जनौं परियोजनामा बजेट हाल्नसम्म जनमतले लगाएको र त्यसको श्रेय जसपाले लिने गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
‘दिनरात एक गरेर सप्तरी निर्वाचन क्षेत्र नं. २ को राज रंगशाला सहित दर्जनौं परियोजनामा बजेट हाल्न लगाउने जनमत पार्टीले, अनि कार्यक्रम हुँदा जसपाका नेता कार्यकर्ताले कब्जा गर्ने, अनि जनमतलाई बहिष्कार गर्ने?’ पोस्टमा भनिएको छ, ‘६ महिनादेखि दिनरात एक गरेर रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशदेखि बजेट विनियोजनसम्म गर्न लगाउने जनमतले, अनि श्रेय लिने जसपाले?’
उनले यस्तै रवैया रहे प्रतिकार गर्ने चेतावनी समेत दिएको छ ।
‘काम गर्ने कालु, मकै खाने भालु। यस्तै हस्तक्षेपको रवैया रहे अब प्रतिकार हुन्छ !’ पोस्टमा भनिएको छ, ‘त्यसो हो भने त सोच्नै पर्छ, एक जाडोले गर्जो टर्दैन। काम फेरिफेरि आउँछ।’