प्रवेश मिश्र
राजविराज । राजविराजस्थित राजविराज-कुनौली टेम्पु स्टेण्डमा शौचालय नहुँदा यात्रु तथा सवारी चालकहरूलाई थुप्रै समस्या खेप्नु परिरहेको छ । शौचालय नभएकोले उनीहरू खुल्लामा पिसाब गर्दै आइरहेका छन् ।जसले त्यहाँ वरिपरिको वातावरण प्रदुषित बनेको छ ।
टेम्पु चालक राजविराज नगरपालिका-१का सुरेश यादवले शौचालय नहुँदा थुप्रै समस्या खेप्नु परिरहेको बताए ।
‘यहाँ नजिकमा कतै शौचालय छैन्, दिशा पिसाब लागेपछि त थुप्रै समस्या हुन्छ, खुल्लामै गर्नुपर्छ,’ उनले भने, ‘यात्रुलाई पनि त्यही समस्या हुन्छ, पुरूष यात्रुले त बाहिर पनि गर्छन्, महिलालाई त झन् अप्ठायरो हुन्छ।’
अर्का सवारी चालक श्याम मंडलले यस ठाउँमा दिनहुँ हजारौँ मान्छेको आवतजावत भएपनि नगरपालिकाले यस समस्यामा चासो नलिएको गुनासो गरे।
‘सिटी र टेम्पु गरि १ सय ३६ वटा सवारी यस स्टेण्डमा छ, शौचालय नहुँदा सबै खुल्लामा पिसाब गर्छँन्, यहाँ त एकदमै गनाउन लागेको छ,’ उनले भने, ‘प्रदुषणले मान्छे बिरामी पनि पर्छँन्,तर खुल्लामा पिसाब गर्नेको विकल्प पनि त छैन् यहाँ।’
यस सन्दर्भमा नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविनले त्यहाँ शौचालय बन्ने बताईन् । क्रान्ति केन्द्रसँगको कुराकानीमा उनले भनिन्, ‘यसपाली बजारमा तिनवटा शौचालय बनाउन ३० लाख बजेट छुट्याएका छौँ, त्यस ठाउँमा आवश्यक छ भन्ने त्यहाँ पनि एउटा निर्माण गर्छौँ ।’