क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललनप्रसाद गुप्ताले कार्यालय प्रमुख पुरूषोत्तम घिमिरेसँग अभद्र व्यवहार गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई कार्यकक्षमा बोलाएर गुप्ताले सोमबार हातपात र अभद्र व्यवहार गरेको आरोप छ । नगर प्रमुख गुप्ताले भने बमोजिम कानुनले नमिल्ने काम गर्न अस्विकार गरेपछी आफुमाथि अभद्र व्यवहार तथा हातपात गरेको कार्यालय प्रमुख घिमिरेले बताए ।
‘कार्यकक्षमा बोलाएर कानुनले नमिल्ने काम गर्न भन्नुभयो, आफ्ना चार कर्मचारीलाई तलब किन नदिएको, दे भनेर भन्नुभयो, ‘ कार्यालय प्रमुख घिमिरेले भने, ‘मैले कानुनले नमिलेपछि म कसरी गरूँ भन्दा गालीगलौज गर्न थाल्नुभयो, हातले घाँटी समात्नै आउनु भयो, म जोगेर निस्के ।’ उनले बाहिर निस्केपछि घटनाबारे जानकारी गराउँदा कर्मचारीहरुले विरोध गरेको बताए ।
उनले भने, ‘म बाहिर निस्केपछि घटना सुनाए, त्यसपछि साथीहरु प्रतिकारमा उत्रिनु भयो, अहिले कार्यालयको कामकाज ठप्प छ।’
नगरपालिकाका कर्मचारीहरुले एक प्रेस विज्ञप्ति जारी गर्दै नगर प्रमुखउपर कानुनी कारबाहीको माग राखेका छन् । उनीहरूले न्याय नपाएसम्म कार्यालयको अति आवश्यक बाहेकका कामकाज ठप्प गरेका छन् ।
यता नगर प्रमुख गुप्ताले भने आफुले अभद्र व्यवहार नगरेको दाबी गरेका छन् । ‘मैले उनलाई कार्यक्षमा बोलाएको हो, मैले बिभिन्न शिर्षकका १७ वटा बुँदामा किन काम गर्नु भएन् भनेर प्रश्न गरे ।’ उनले भने, ‘मैले अभद्र व्यवहार गरेको छैन्, सिसिटिभीको फुटेज हेर्नसक्नुहुन्छ ।’