प्रवेश मिश्र
राजविराज । नेपाल आयल निगम लिमिटेडले शुक्रबार एक विज्ञप्ती जारी गर्दै पेट्रोल र डिजेलको मुल्य प्रति लिटर ३ रूपैयाँले घटाइएको जनाएको छ ।
विज्ञप्तिमा इण्डियन आयल कर्पोरेशनवाट मुल्य घटेर आएकोले निगम संचालक समितिको निर्णय अनुसार शनिबारदेखि लागु हुने गरि पेट्रोल, डिजेल तथा मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर ३ रुपैयाँले घटाइएको जनाइएको छ ।
यता इन्धनको मुल्य घटेर आएसँगै शनिबार राजविराजको पेट्रोल पम्पहरु बन्द देखिएको छ । जबकी राजविरजका किराना तथा पान पसलहरूमा बोतलमा पेट्रोल छ्याछ्यापती पाइरहेको छ।
मुल्य घटेर आएसँगै राजविराजका पेट्रोल पम्पहरूले बिभिन्न बाहाना बनाएर सधैँ इन्धन बिक्रि बितरण बन्द गर्ने गरेको स्थानीय उपभोक्ताहरूले आरोप लगाउने गरेको छ ।
शनिबार दिउँसो पेट्रोल लिन राजविराज नगरपालिका-९स्थित गिता पेट्रोल पम्प पुगेका स्थानीय रूपेश यादवले पम्प बन्द रहेको बताए । ‘पम्पमा पेट्रोल र डिजेलको डिजिटल मिटर कपडाले छोपेको थियो, गेट बन्द थियो कोही भेटिएन,’ उनले भने, ‘बाहिर एउटा पेट्रोल बोक्ने गाडी पनि थियो तर त्यहाँ कोही थिएन् ।’
उनले पेट्रोलको मुल्य घटेर आएपछि पम्पहरूले उपभोक्तालाई बिक्रि वितरण बन्द गरि पसलेहरूलाई पुरानै मुल्यमा बेच्ने गरेको आरोप लगाए ।’यहाँ यस्तै रवैया छ, मुल्य घटेर आएसँगै एकदुई दिन पम्पहरूले पेट्रोल दिन बन्द गरि दिन्छन र पसलेलाई पुरानै मुल्यमा बेच्छन्,’ उनले भने, ‘पसलेहरुले त्यही पेट्रोल २५ रुपैयाँ ३० रुपैयाँ नाफा लिएर बेच्ने गर्छन् ,१ सय ७०को पेट्रोल २ सयमा किन्नुपर्ने बाध्याता बन्छ।’
उनले पम्पमा पेट्रोल नरहेको बेला किराना पसलहरुमा कसरी पेट्रोल हुने गरेको प्रश्न गरे ? उनले यसअघि पनि पेट्रोलको मुल्य घटेर आएको बेला एक दिन राजविराजको पम्पहरूमा पेट्रोल बिक्रि वितरण बन्द गरिएको बताए । ‘यसअघि मंसिर १५ गते पेट्रोलको मुल्य घटेर लागु भएको दिन पेट्रोल दिन बन्द गरिएको थियो,’ उनले भने, ‘जहिले पनि घटेर आएसँगै बिक्रि बन्द गरिन्छ र बढेर लागु भएपछि पुरानो मुल्यमा किनेको पनि बढेकै मुल्यमा बेच्छन् ।’
शनिबार क्रान्ति केन्द्रको टोली पनि गिता पेट्रोल पम्प पुग्दा पम्प बन्द नै रहेको थियो । शनिबार बेलुका राजविराज-हनुमाननगर सडकखण्ड अन्तर्गत राजविराजमा रहेको इन्टर नेशनल पेट्रोल पम्पमा क्रान्ति केन्द्रको टोली पुग्दा पेट्रोल बिक्री गरिरहेपनि पुरानै मूल्य (१ सय ६९ प्रति/लिटर)मा पेट्रोल बिक्री गरिरहेको देखिएको थियो भने डिजल विक्रीवितरण बन्द थियो ।
यसमा इन्टर नेशनल पम्पका संचालक राजकुमार गुप्ताले आइतबारदेखि नयाँ मुल्य लगाउने प्रतिक्रिया दिए । उनले भने, ‘म बाहिर छुँ, म भनिदिन्छु, भोलिदेखि नयाँ मुल्य लाग्छ ।’
गिता पेट्रोल पम्पमा भन्ने पटकपटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेन् ।
यस सन्दर्भमा प्रमुख जिल्ला अधिकारी किरण थापाले कानुन विपरित काम गरेको पाइए कारबाही गरिने बताए ।
‘पेट्रोल नदिएको कुरा म कहाँ पनि आएको छ, मैले प्रहरीलाई पनि त्यसबारे बुझ्न भनेछौँ, पेट्रोल नभएर नदिएको बुझिएको छ,’ उनले भने, ‘पेट्रोल रोक्न मिल्दैन, रोकेर कानुन विपरीत काम गरेको छ, भने कारबाही गर्छौँ ।’