क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। राजविराजमा परिक्षा शुल्क बारे प्रश्न गर्दा दुई विद्यार्थीलाई प्रधानध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले निर्घात कुटपिट गरेका घटना पश्चात आक्रोशित विद्यार्थीहरुले बिहिबार राजविराज नगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन् । उनीहरूले प्रअ र व्यवस्थापन समितिका अध्यक्षलाई कारबाही गर, अनावश्यक शुल्क लिन पाइदैन जस्ता नाराबाजी गरिरहेका छन् ।
राजविराज नगरपालिका -१६स्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालय बोरियामा मंगलबार विद्यालयले अर्धवार्षिक परीक्षा र रजिष्ट्रेसन शुल्क मनपरी लिईरहेको विषयमा प्रश्न उठाउँदा कक्षा १० मा अध्यनरत विकासकुमार मण्डल र रोशन साहलाई प्रधानाध्यापक रामानन्द सुनरैत यादव र व्यवस्थापन समितिका अध्यक्ष रितेश यादवले विद्यालयको कार्यालय भवनमै कुटेको विद्यार्थीहरुको आरोप छ ।
त्यसयता उनीहरू लगातर प्रदर्शनमा रहेका छन् । विद्यार्थी कुट्न पाइदैन र कुट्नेलाई कारबाहीको माग गर्दै जिल्लाका संयुक्त विद्यार्थी संघ समेत आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । उता दुवै पक्षबिच बुधबार जिल्ला प्रहरी कार्यालयमा छलफल भएपनि टुंगो लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डीराज नेउपानेले बताए। उनले पीडित पक्षबाट जाहेरी आए कानुनी प्रक्रिया अगाडि बढाइने बताए ।
उता प्रअ र व्यवस्थापन समिति अध्यक्षले कुटपिट गरेको घटनालाई अस्विकार गर्दै आएका छन् । उनीहरूले अभिभावकलाई बोलाउन भनेपछि विद्यार्थीले अभद्र व्यवहार गरेकोमा घम्साघम्सी हुँदा बेन्चमा टाउको ठोकिएको बताउँछन् ।