प्रवेश मिश्र
राजविराज । सप्तरीमा अनावश्यक शुल्क बारे प्रश्न गर्दा विद्यार्थीलाई निर्घात कुटपिट गरिएको छ । राजविराज नगरपालिका -१६स्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालय बोरियामा परिक्षा शुल्क बारे प्रश्न गर्दा दुई विद्यार्थीलाई प्रधानध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले निर्घात कुटपिट गरेका छन् ।
कक्षा १० मा अध्ययनरत विकास मंडल र रोशन साहलाई विद्यालयका प्रधानाध्यापक रमानन्द सुनरैत यादव र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रितेश यादवले मंगलबार निर्घात कुटपिट गरेका हुन् ।उनीहरू गजेन्द्र नारायण सिंह अस्पाताल राजविराजमा उपचार गराएर बुधबार फर्किएका छन् ।
फर्म भरे बापत शुल्क तिरे पनि शिक्षकले परिक्षा शुल्क भन्दै थप रकम माग्दा प्रश्न गरेपछि आफुलाई निर्घात कुटपिट गरेको घटनाक्रम विकासले सुनाए ।
‘यस स्कुलमा कक्षा दशको फर्म भर्न १ हजार शुल्क लिइन्छ, जबकी अन्य स्कुलमा ४ सय मात्र लिन्छ, तर पनि शुल्क दिए, त्यसपछि म परिक्षाको एडमिट कार्ड लिन जाँदा ४ सय रुपैयाँ अझै माग्यो,’ विकासले भने, ‘ अनि मैलै त पैसा बुझाइ सकेको भने, तर सरले यो परिक्षा फी हो भन्नुभयो, त्यसपछि मैले यस स्कुलमा बढी पैसा लिने गरेको कुरा भनिरहँदा मेरो साथीहरुले त्यसको भिडियो बनाएर फेसबुकमा लगाइदियो ।’
उनले यही विषयलाई लिएर प्रधानध्यापक र समिति अध्यक्षले कुटपिट गरेको बताए ।
‘म आज स्कुल गएको थिएँ , हेडसरले मलाई बोलाएर स्कुलको इज्जत किन्न उडायो भनेर सोध्नुभयो, मैले भिडियोमा केही खराब शब्द भनेको छैन्, मात्र यस स्कुलका हेडसर घुस खान्छन्, समितिका अध्यक्ष काम गर्दैनन् भनेको छुँ ,’ उनले भने ।
विकासले त्यसपछि परिक्षा दिइरहँदा जयराम साह नामक शिक्षकले कक्षामा आएर मोबाइल खोसी लगेको बताए । ‘परिक्षा दिइरहेको थिएँ, जयराम सर आउनुभयो र मोबाइल खोसेर लग्नुभयो र हेडसलाई दिनुभयो,’ विकासले भने, ‘छुट्टी भएपछि म हेडसरसँग मोबाइल माग्न गएँ, उहाँले दिँदिन् भन्नुभयो, गार्जनलाई बोलाउन भन्नुभयो, मेरो गार्जनलाई उहाँले फोन गर्नु भएको थियो, गार्जनले भोलि आउँछु भन्नुभएको थियो, मैले मोबाइल दिनुस् न सर भने तर उहाँले दिनु भएन् ।’
यतिकैमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रितेशले विकासलाई नजिक बोलाएर कुटपिट गर्न थालेको विकासले बताए । उनले प्रधानध्यापक र समिति अध्यक्षले कुट्दाकुट्दै फिल्डमा लगेको बताए ।
विकासले शौचालयमा लगेर व्यावस्थापन समितिको अध्यक्षले जबरजस्ती नग्न दृश्य खिचेको र त्यसलाई सार्वजनिक गरिदिने धम्की दिएको सुनाए ।
‘मलाई कुट्दाकुट्दै शौचालयमा लग्यो, रितेश यादवले हातबाट फलामको रड लिएर मलाई कपडा खोल्न भन्यो, न खोले यसै रडले टाउकोमा हान्छु भन्यो,’ विकासले भने, ‘मैले डरले कपडा खोले, मलाई पुरा नग्न बनाएर भिडियो खिच्यो र मलाई यो कुटपिटको कुरा स्कुल बाहिर कतै बाहिरियो भने फेसबुकमा यो भिडियो राख्दिन्छु भन्यो ।’
सोही विद्यालयका विद्यार्थी रोशन साहले आफुलाई पनि कुटपिट गरिएको बताए ।
प्रअ र व्यवस्थापन समिति अध्यक्षले विद्यार्थीलाई कुटेको कुरा अस्विकार गरे । उनीहरूले विद्यार्थीलाई अभिभावकलाई बोलाउन भन्दा विद्यार्थीले अभद्र व्यवहार गरेपछि घम्साघम्सीमा टाउको बेन्चमा ठोकिएको बताए ।
प्रअले तोकिएको भन्दा बढी शुल्क विद्यालय व्यवस्थापन समितिको निर्णय बमोजिम विद्यालय सुधार प्रयोजनका लागि लिइरहेको बताए ।
यता अनावश्यक शुल्क लिइरहेको बारे प्रश्न गर्दा विद्यार्थीलाई कुटेको भन्दै विद्यार्थीहरुले राजविराजमा चर्को आन्दोलन गरिरहेका छन् ।