क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको बलानबिहुल गाउँपालिकामा स्वास्थ्य परिक्षण सम्बन्धी एक घरधैलौ कार्यक्रम सुरु गरिएको छ । जेष्ठ नागरिक तथा दिर्घरोगी एवम् अपांगहरूसँग गाउँपालिका अध्यक्ष (मेयर) स्वास्थ्य नामक कार्यक्रम सुरुवात गरिएको छ ।
यस अन्तर्गत जेष्ठ नागरिक, दीर्घरोगी र अपाङ्गहरुलाई नियमित स्वास्थ्य जाँच गरि नि:शुल्क औषधि वितरण गरिने कार्यक्रम रहेको पालिका अध्यक्ष खेमचन्द्र यादवले बताए । ‘यसमा पाँच जनाको स्वास्थ्यकर्मीको टोली छ घरघर पुगेर जेष्ठ नागरिक, दिर्घरोगीको चेकजाँच गरिन्छ र उनीहरूलाई नि: शुल्क औषधि उपलब्ध गराइने छ,’ उनले भने, ‘यसले पालिका भित्र कुन रोगको कति रोगी रहेको छ त्यो पनि तथ्याङ्क आउँछ र बिरामीहरुलाई सहज हुन्छ ।’
पालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको उक्त कार्यक्रमको पालिका अध्यक्ष यादवले वडा नं. १ मल्हनियाँबाट उद्घाटन गरेको छ । यो कार्यक्रम प्रत्येक वडाबाट प्रवाह भईरहेको अध्यक्ष यादवले जनाए । उनका अनुसार यस कार्यक्रमबाट करिब १५ हजार जनाले प्रत्यक्ष रुपमा स्वास्थ्य लाभ लिइने छन् । अध्यक्ष यादवले यो कार्यक्रम निरन्तर चल्ने बताएका छन् ।
उनले पालिकाको स्वास्थ्य संस्थाहरुमा सेवा लिन कुनै समस्या भएमा तुरुन्त जानकारी गराउन सबै सेवाग्राहीहरुमा आग्रह गरेका छन् ।