क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण कार्य सुचारु गर्न माग राख्दै आन्दोलित सप्तरी युथले तेश्रो चरणको कार्यक्रम घोषणा गरेको छ । दोस्रो चरणको आन्दोलनको अन्तिम दिन राजविराजमा बृहत र्याली प्रदर्शनपछि आयोजित कोणसभामा प्रधानमन्त्रीलाई ९ सय ९९ चिट्ठी पठाउनेलगायतका सातदिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
पहिलो र दोश्रो चरणको आन्दोलनका कार्यक्रम सकेका सप्तरी युथले तेश्रो चरणको आन्दोलन अन्तर्गत सातदिनसम्म राजविराज नगरपालिका अन्तर्गतका टोलहरुमा घरदैलो गरि सुझाव संकलन गरि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई ९ सय ९९ वटा चिट्ठी पठाउने संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।
आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवको अध्यक्षतामा आयोजित कोणसभालाई सम्बोधन गर्दै राजविराज नगरपालिकाकी कार्यबाहक मेयर इसरत परविनले माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्नुपर्नेमा जोड दिइन् । माग पूरा नभएसम्म आन्दोलन रोक्न नहुने जिकिर गर्दै उनले युवाहरुको संघर्षका कार्यक्रममा निरन्तर साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
सप्तरी युथ नेपालका कार्यबाहक अध्यक्ष मोहन कुमार यादवले शान्तिपूर्ण संघर्षबाट सुनुवाइ नभए राजमार्ग बन्दसहित सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
उनले दुइहप्तासम्म जारी आन्दोलनको विषयमा यहाँबाट निर्वाचित जनप्रतिनिधि तथा राजनीतिक पार्टीहरुले चासो नदिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।
आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवले अलपत्र प्रतिष्ठान निर्माण कार्यलाई अविलम्ब सुचारु गर्नुपर्ने माग सप्तरीबासीकै रहेको बताए ।
कार्यक्रममा राजविराज नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष जय नारायण मण्डल, वडा नम्बर २ का अध्यक्ष अरुण कुमार यादव, ७ का अध्यक्ष सुभाषचन्द्र यादव, युवा नेता नवनित झा, मविव क्याम्पसका स्ववियु सभापति रन्जित कुमार यादव लगायतकाले सम्बोधन गरे ।
कार्यक्रमको संचालन सप्तरी युथ नेपालका सदस्य अनिल यादवले गरेको थियो ।
सप्तरी युथले मंसिर १० गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएर आन्दोलन सुरु गरेका थिए । पहिलो चरणको आन्दोलनबाट सुनुवाइ नभएपछि दोश्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत सात दिनमा १० हजार हस्ताक्षर संकलन गरेका छन् । निरन्तरको आन्दोलनबाट माग सम्बोधन नभएपछि सातदिन भित्र ९ सय ९९ वटा चिठ्ठी प्रधानमन्त्रीका लागि पठाइने भएको छ ।
०७५ सालमा मन्त्रिपरिषद् बैठकले जिल्लाको राजविराज नगरपालिका– १० बिरौलस्थित प्रतिष्ठान निर्माण गर्ने निर्णयपछि २२ असार ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको शिलान्यास गरेका थिए । तर, अहिलेसम्म डिपीआर निर्माणबाहेक अन्य काम भएको छैन् ।