श्रवण वत्स
राजविराज । सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको समाजिक सेवा इकाई र जेष्ठ नागरिक सेवाबाट चार महिनामा एक हजार जना भन्दा बढी नि:शुल्क सेवाबाट लाभान्वित भएको छ ।
चालु आर्थिक बर्षको कार्तिकसम्ममा सामाजिक सेवा इकाईबाट कुल एक हजार १६ जना लाभान्वित भएको छ । जस मध्ये दलित १७० जना, जनजाती २४४ जना, मधेशी ५७३ जना, मुश्लिम ३५ जना, ब्राह्मण/क्षेत्रि १४ जना र अन्य १६ जनाले निशुल्क सेवा लिएका छन् ।
त्यस्तै, जेष्ठ नागरिक सेवा अन्तर्गत कुल ३४० जना लाभान्वित भएको छ । जसमा दलित ५२ जना, जनजाती ७५ जना, मधेशी २ सय जना, मुश्लिम १० जना, ब्राह्मण/क्षेत्री २ जना रहेको सुरक्षा इकाई प्रमुख सुर्यकान्त झाले जानकारी दिए ।
समाजिक सेवा इकाईका प्रमुख झाले यस इकाई अन्तर्गत गरिब, विपन्न्, अति विपन्न, असाहाय, जेष्ठ नागरिक, पीडित लगायतका व्यक्तिहरुलाई सेवा प्रदान गरिदैआएको बताए । उनले भने, ‘गरिब, विपन्न्, अति विपन्न, असाहाय, जेष्ठ नागरिक जस्ता क्रायटएरियामा पर्ने बिरामीलाई सेवा प्रदान गर्ने गरिन्छ,’ उनले भने, ‘विरामीको अवस्था र आवश्यकता हेरेर उपचार, चेकजाँच र औषधिमा पुर्ण वा आशिंक रकम छुट दिने गरिन्छ ।’
उनले भने जेष्ठ नागरिक सेवाबाट कुल ३ लाख ३५ हजार १ सय ६० रुपैयाँ बराबरको निशुल्क सेवा दिइएको बताए । जसमध्ये आंशिक छुट २ लाख ६९ हजार ६ सय १० र पुर्ण छुट ६५ हजार ५ सय ५० रुपैया बराबरको रकम छुट दिएको छ ‘
त्यस्तै, सामाजिक सेवा इकाइबाट कुल ९ लाख ३२ हजार २ सय ४३ रुपैयाँ बराबरको निशुल्क सेवा प्रदान गरिएको छ । जसमध्ये आंशिक छुट ६ लाख ४० हजार ७ सय ४२ र पुर्ण छुट २ लाख ९१ हजार ५ सय १ रुपैयाँ बराबरको रहेको ईकाई प्रमुख झाले बताए ।