क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको कार्य अबिलम्ब सुचारु गर्न माग गर्दै सप्तरी युथ दोस्रो चरणको आन्दोलनमा रहेको छ ।
बुधबारदेखि उनीहरूले ७ दिने हस्ताक्षर संकलन अभियान सुरु गरेका छन् ।
आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवका अनुसार सात दिनमा १० हजार हस्ताक्षर संकलन गरि प्रतिष्ठान निर्माणको लागि दबाब सृजना गर्ने कार्यक्रम रहेको छ । जसमा शनिबार पाँचौ दिनसम्म सात हजार भन्दा बढी हस्ताक्षर भएको सप्तरी युथले जानकारी दिएको छ ।
सप्तरी युथका कार्यवाहक अध्यक्ष मोहन यादवले भन, ‘हाम्रो आन्दोलनमा निकै सहभागिता भइरहेको छ, आज मिसन कलेजले पनि आफ्नो समर्थन जनाएको छ । आज पाँचौ दिन सम्म ७ हजार ३ सय ४५ हस्ताक्षर संकलन भएको छ, सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छौँ र सम्पुर्ण सप्तरीबासीलाई यथा स्थानबाट यसमा सहयोग गर्न आग्रह गर्दछौँ ।’
यसअघि पहिलो चरणमा उनीहरूले सातदिने कार्यक्रम घोषणा गरि प्रधानमन्त्रीलाई ज्ञापनपत्र, र्याली प्रदर्शन, सिटी जुलुस प्रदर्शन, दिउँसै टर्च बालेर नेता तथा सांसदको खोजी, धर्ना दिने कार्य गरिसकेका छन् ।
२०७५ सालमा नेपाल सरकारको मन्त्री परिषदको बैठकले प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । त्यसपछि राजविराज नगरपालिका- १०बिरौलमा २०७८ असार २२गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उक्त प्रतिष्ठान निर्माण कामको शिलान्यास गरेका थिए । यद्यपी अहिलेसम्म प्रतिष्ठान निर्माणस्थलमा जग्गा तारजालीले घेरबार गर्ने र डिपिआर बनाउनेबाहेक अन्य काम अघि बढ्न सकेको छैन् ।