क्रान्ति केन्द्र सम्वाददाता
भारतमा बंगालको खाडीबाट आएको बिनाशकारी चक्रवातबाट १७ जनाको मृत्यु भएको छ । भारतको मिचोङले तमिलनाडु, पुडुचेरी, ओडिशा र आन्ध्र प्रदेशमा विनाश मच्चाएको भारतीय संचारमाध्यमहरुले जनाएको छ ।
चेन्नई र आन्ध्र प्रदेशको तटीय क्षेत्रमा भारी वर्षाका कारण मृत्यु भएको भारतीय सुरक्षाकर्मीहरुले बताएको छ । हावाको गति प्रतिघण्टा ११० किलोमिटर रहेको भारतीय मौसम विज्ञहरुले बताएको छ ।
अविरल वर्षाका कारण सडकहरु डुबानमा परेका छन् र त्यसबाट करिब २ करोड मानिस प्रभावित भएका भारतीय संचारमाध्यमहरुले लेखेका छन् । अहिले चक्रवात उत्तरतर्फ सरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर, चक्रवातको गति त्यति धेरै छैन ।
चक्रवात मिचोङको प्रभावले आन्ध्र प्रदेशमा भारी वर्षा र चेन्नईमा बाढीको सामना गर्नु परेको छ । आन्ध्र र चेन्नईका करिब १० जिल्लामा यस प्रकोपमा परेको भारतीय संचारहरुले लेखेको छ ।
चक्रवातबाट चेन्नईका जनता सबैभन्दा बढी प्रभावित भएका ग्रेटर चेन्नई कर्पोरेशनका आयुक्त डीआर जे राधाकृष्णले बताए । उनीहरुको खाना र अन्य राहत सामग्री पठाउँने काम भईरहेको, उनले बताए । बाढीबाट प्रभावित धेरै तल्लो क्षेत्रमा ३ सय डुङ्गाहरू तैनाथ गरिएको छ । अन्य जिल्लाका करिब ५ हजार सरकारी कर्मचारी राहत कार्यमा संलग्न रहेको डा जे राधाकृष्णनले बताए ।
चेन्नईमा बुधबार स्कूल र कलेजहरू बन्द गर्न आदेश दिइएको छ र सहरमा ८० प्रतिशत बिजुली आपूर्ति पुनर्स्थापित गरिएको छ । शहरका धेरै बासिन्दाहरू विद्युत कटौती र मोबाइल जडानको अभावमा संघर्ष गरिरहेका छन् ।