प्रवेश मिश्र
राजविराज । रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतीष्ठान निर्माणको कार्य अबिलम्ब सुचारु गर्न माग गर्दै सप्तरी युथले दोस्रो चरणको आन्दोलन सुरु गरेको छ ।
बुधबारदेखि उनीहरूले ७ दिने हस्ताक्षर संकलन अभियान सुरु गरेका छन् । सात दिनमा १० हजार हस्ताक्षर संकलन गरि प्रतिष्ठान निर्माणको लागि दबाब सृजना गर्ने कार्यक्रम रहेको आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवले जानकारी दिए ।
उनीहरूले आज बुधबार राजविराजको पानी टंकी चौकमा सेतो कपडामा हस्ताक्षर संकलन गरिरहेका छन् । भोलिदेखि राजविराज नगरपालिकाको सबै वडा तथा कलेजहरुमा पुगेर हस्ताक्षर संकलन गर्ने योजना रहेको सप्तरी युथका कार्यवाहक अध्यक्ष मोहन यादवले बताए ।
यसअघि पहिलो चरणमा उनीहरूले सातदिने कार्यक्रम घोषणा गरि प्रधानमन्त्रीलाई ज्ञापनपत्र, र्याली प्रदर्शन, सिटी जुलुस प्रदर्शन गर्ने, दिउँसै टर्च बालेर नेता तथा सांसदको खोजी गर्ने, धर्ना दिने कार्य गरिसकेका छन् ।
२०७५ सालमा नेपाल सरकारको मन्त्री परिषदको बैठकले प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । त्यसपछि राजविराज नगरपालिका- १०बिरौलमा २०७८ असार २२गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उक्त प्रतिष्ठान निर्माण कामको शिलान्यास गरेका थिए । तर अहिलेसम्म प्रतिष्ठान निर्माणस्थलमा जग्गा तारजालीले घेरबार गर्ने र डिपिआर बनाउनेबाहेक अन्य काम अघि बढ्न सकेको छैन् ।