क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । अलपत्र अवस्थामा रहेको सप्तरीको राजविराज नगरपालिका-१०स्थित रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथ नेपाल पछिल्लो ६ दिनदेखि निरन्तर आन्दोलनमा छ ।
आन्दोलनको कार्यक्रम अन्तर्गत शुक्रबार छैठौँ दिन उनीहरूले जिल्ला प्रशासन कार्यालय सप्तरील अगाडि दुई घण्टा धर्ना दिएका छन् । उनीहरूको आन्दोलनमा जिल्लाका विशिष्ट ब्यक्तिहरुले समेत एक्येवद्धता जनाएका छन् । शुक्रबार बसेको उनीहरूको धर्नामा राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविन तथा मैथिली साहित्य परिषद्का राजविराजका अध्यक्ष अवधेश झाले समेत सम्बोधन गरेका थिए।
गत शनिबार बसेको सप्तरी युथको बैठकले आन्दोलन परिचालन समिति गठन गरि आन्दोलन थालेको थियो ।
पहिलो चरणमा एक हप्ते आन्दोलनको कार्यक्रम घोषणा गर्दै उनीहरुले त्यसपछि पनि सरकार गम्भीर नभए बैठक बसेर पुनः अर्काे चरणको आन्दोलन घोषणा गर्ने जनाएको थियो । जस अन्तर्गत शुक्रबार साँझ बैठकबसी अगामी आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको युथका कार्यवाहक अध्यक्ष मोहन यादवले जानकारी दिए ।
२०७५ सालमा नेपाल सरकारको मन्त्री परिषदको बैठकले प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो ।२२ असार ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए। यद्यपी अहिलेसम्म डिपिआर निमार्ण बाहेक त्यहाँ केही काम भएको छैन् ।