क्रांति केन्द्र संवाददाता
राजविराज । सप्तरी र सिराहाका स्थानीय तहहरुका असल अभ्यासहरुको आदान प्रदान गर्ने उद्देश्यले बिहिवार राजबिराजमा एक कार्यक्रम अयोजना गरिएको थियो ।
नेपाल सरकारको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको कार्यक्रम समन्वय इकाई कॉठमाण्डौले आयोजना गरेको कार्यक्रमको प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाई जनकपुरधामले सहजीकरण गरेको थियो ।
सो कार्यक्रममा पालिकाहरुले आफुले गरेका उत्कृष्ट कार्यहरुको प्रस्तुतीकरण गरेका थिए । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले विपद व्यवस्थापनः समुदायमा आधारित पूर्व सूचना प्रणालीले ल्याएको परिवर्तन, राजविराज नगरपालिकाले अतिक्रमण नियन्त्रणमा राजविराज नगरपालिकाको प्रयास, हनुमाननगर कंकालिनी नगरपालिकाले कृषि औजार लाइब्रेरी स्थापना, विष्णुपुर गाउँपालिकाले सूचना प्रविधिको प्रयोगले सेवा प्रवाहमा ल्याएको परिवर्तन, तिरहुत गाउँपालिकाले लम्पी स्किन रोगको रोकथाममा तिरहुत गाउँपालिकाको प्रयासले लहान नगरपालिकाले कम खर्चमा बॉसको घर निर्माणबारे प्रस्तुतीकरण गरेका थिए ।
त्यस्तै सुरुङ्गा नगरपालिकाले बालविवाह मुक्त पालिका, स्थानिय पाठ्यक्रम, महदेवा गाउँपालिकाले न्याय सम्पादनमा महदेवा गाउँपालिकाको प्रयास, छिन्नमस्ता गाउँपालिकाले स्थानीय मैथिली विषयको पढाई संचालन, दरबन्दी मिलान, अंग्रेजी माध्यमबाट पढाई संचालन, खडक नगरपालिकाले दिशाजन्य लेदो व्यवस्थापनबारे प्रस्तुतीकरण गरे ।
सिरहाको धनगढीमाई नगरपालिकाले करार खेती, सखुवानन्करकट्टी गाउँपालिकाले कुपोषित बालबालिकाको खोज तलास र उपचार, कर्जन्हा नगरपालिकाले बगर खेतीले स्थानीय आर्थिक विकासमा पुर्याएको योगदान विषयमा प्रस्तुतीकरण गरेका थिए ।
सो कार्यक्रम संघ, प्रदेश र स्थानीय तहको सहभागितमा भएकोले यस्ता कार्यक्रमहरुले तिन तह बिच सहकार्य, समन्वय र सह अस्तित्व क़ायम गर्न टेवा पुग्ने कुरामा वक्ताहरुले जोड़ दिएका थिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेश यादव, पालिका प्रमुखहरू, प्रमुख प्रशासकीय अधिकृत लगायतको सहभागिता रहेको थियो ।