क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । अलपत्र अवस्थामा रहेको सप्तरीको राजविराज नगरपालिका -१० विरौलस्थित रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथ नेपालले थालेको आन्दोलनको तेस्रो दिन मंगलबार सिटी जुलुस प्रदर्शन गरेका छन् ।
निरन्तर आन्दोलनमा रहेका उनीहरूको माग सम्बोधन नभएपछि आन्दोलनको कार्यक्रममालाई निरन्तरता दिएका छन् ।
युथ नेपालको शनिबार बसेको बैठकले सत्येन्द्र यादवको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरि आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो। त्यस अनुसार आइतबार पहिलो दिन जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको थियो । दोस्रो दिन र्याली प्रदर्शन गरेको थियो ।
१३ गते बुधबार दिउँसै टर्च बालेर नेता तथा सांसदको खोजी गर्ने, १४ गते बिहीबार जिल्ला प्रशासन कार्यालयको मूल गेटमा १ घण्टा धर्ना दिने र १५ गते शुक्रबार–जिल्ला प्रशासन कार्यालयको मूल गेटमा २ घण्टा धर्ना दिने कार्यक्रम रहेको जनाइएको छ ।
एक हप्ते आन्दोलनपछि पनि सरकार गम्भीर नभए बैठक बसेर पुनः अर्काे चरणको आन्दोलन घोषणा गर्ने सप्तरी युथका कार्यबाहक अध्यक्ष मोहन यादवले शनिबार जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।
२०७५ सालमा नेपाल सरकारको मन्त्री परिषदको बैठकले प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो ।२२ असार ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए। यद्यपी अहिलेसम्म डिपिआर निमार्ण बाहेक त्यहाँ केही काम भएको छैन् ।