क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । जनता समाजवादी पार्टीका नवगठित सप्तरी जिल्ला कार्यसमितिका अध्यक्ष उमेश यादवले अर्को जिल्ला समितिको अध्यक्ष केदार यादवलाई सात बुँदे स्पष्टीकरण सोधेको छ ।
६ मंसिरमा केदार यादवलाई पार्टीको जिल्ला समिति सप्तरीको पुर्व अध्यक्ष सम्बोधन गरि उमेश यादवले पत्र लेख्दै सात दिन भित्र लिखित स्पष्टीकरण माग गरेको छ ।
स्रोतको अनुसार उनलाई छिन्नमस्ता, तिलाठी कोईलाडी गाउँपालिका र राजविराज नगरपालिकामा आफ्नो पार्टीका प्रत्याशीहरु विरुद्ध अन्तर्घात गरेको आरोप सम्बन्धमा, उनको कार्यकालमा गुटवन्दी र व्यक्तिवादी गतिविधि चरम उत्कर्षमा पुगेको सम्बन्धमा, प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा पार्टीका प्रदेश सभा प्रत्याशीहरु शैलेन्द्र प्रसाद साह, लक्ष्मण यादव र अभिषेक यादवलाई हराउन सक्रिय रहेको सम्बन्धमा, गत स्थानीय तहको र प्रादेशिक एवम् संघिय निर्वाचनमा सप्तरीमा जसपाको नराम्रो हारको जिम्मेवारी जिल्ला अध्यक्षको हैसियतले लिने वा नलिने सम्बन्धमा, पुराना ईमान्दार त्यागी नेता कार्यकर्ताहरुलाई पाखा लगाउने र आफू प्रति वफादार कार्यकर्ताहरुलाई प्रोत्साहन दिने तथा नेता कार्यकर्तालाई अपमान गर्दा आफू सम्मानित महशुश गर्ने सम्बन्धमा, सवै पालिकामा गुट उपगुट खडा गरी पार्टीको संगठनलाई धाराशायी बनाएको आरोप सम्बन्धमा सपष्टीकरण माग गरिएको छ ।
जवाफ नदिए अनुशासन सम्बन्धी कारवाही गर्ने चेतावनी समेत दिइएको स्रोतले जनाएको छ ।
केही समययता सप्तरीमा जसपाको जिल्ला कार्यसमितिको सम्बन्धमा आन्यौलता कायम छ । यता केदार यादवले आफु नै पार्टीको अधिकारीक जिल्ला अध्यक्ष रहेको दाबी गर्दै आएका छन्।