क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । तिलाठी कोइलाडी गाउँपालिकाले स्वास्थ्य शाखाको बार्षिक समिक्षा सञ्चालन गरेको छ । आर्थिक बर्ष २०७९÷०८० को स्वास्थ्यतर्फ सम्पन्न कार्यक्रमहरुको समिक्षा तथा आगामी बर्षको लागि योजना निर्माण गर्न बार्षिक समिक्षाको आयोजना गरिएको हो ।
बार्षिक समिक्षा गोष्ठी उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले सीमित स्रोत र साधनको बावजुद पनि १८ वटा पालिकामध्ये तिलाठी कोइलाडी गाउँपालिकाले जिल्लामा दोस्रो स्थान हासिल गरेकोमा स्वास्थ्यकर्मीहरुलाई बधाई दिए । विगतमा देखिएका कमी कमजोरीहरुलाई सच्याउँदै आगामी दिनमा प्रभावकारी र जनमूखी स्वास्थ्य सेवा प्रदान गर्न अध्यक्ष मण्डलले निर्देशन दिए ।
सो कार्यक्रममा स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख देवकान्त झाले जनताको गुनासो नआउने हिसाबले स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गरे ।
तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष फुलकुमारी साह, वडा नं. ४ का अध्यक्ष मुनिलाल मुखिया, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र झासहितकाले मन्तब्य ब्यक्त गर्नुभयो । सो अवसरमा स्वास्थ्य शाखाका दिपक कुमार मण्डलले गाउँपालिकाका समग्र स्वास्थ्य अवस्था बारे प्रस्तुतीकरण गरे ।
गाउँपालिकाको ८ वटै स्वास्थ्य संस्थामध्ये उत्कृष्ट हुने स्वास्थ्य संस्थालाई पुरस्कृत गर्न स्वास्थ्य कार्यालयका प्रमुख देवकान्त झा, जनस्वास्थ्य अधिकृत हरेन्द्र साह र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र झा सहितको एक चयन समिति गठन गरिएको छ ।