क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । मैथिली साहित्य परिषद्को पुर्व अध्यक्ष शुभचन्द्र झाको स्मृतिमा परिषदले अक्षयकोषको स्थापना गर्ने भएको छ ।
स्वर्गीय झाको एघारौं दिनको पुण्यतिथिमा शनिबार मैथिली साहित्य परिषद्ले आयोजना गरेको शोक सभामा परिषदका अध्यक्ष अवधेश कुमार झाले एक लाख रुपैयाँको अक्षयकोषको स्थापना गरिने बताए।
मैथिली क्षेत्रमा स्वर्गीय झाको योगदान बारे चर्चा गर्दै अध्यक्ष झाले ११ हजार नगद राशीको शुभचन्द्र झा स्मृति मैथिली,भाषा, कला, संस्कृति पुरस्कार स्थापना गरिने बताए । उनले उक्त पुरस्कार प्रत्येक वर्ष मैथिली क्षेत्रमा योगदान पुर्याउने एक व्यक्तिलाई प्रदान गरिने बताए ।
कार्यक्रममा बोल्दै वक्ताहरुले स्वर्गीय झा बहुआयामिक व्यक्तित्व रहेको उल्लेख गरेका थिए । उनीहरूले स्वर्गीय झाको मैथिली अभियानमा रहेको योगदान सदैव अविस्मरणीय रहने बताए ।
कार्यक्रममा मैथिली साहित्य परिषद्का पुर्व अध्यक्षहरु विष्णु मंडल, देवेन्द्र मिश्र, विवेकानन्द मिश्र, सतिश दत्त, पुर्व सचिव श्यामसुन्दर झा, अजय झा, पत्रकार महासंघको पुर्व अध्यक्ष बैद्यानाथ झा, पत्रकार महासंघका अध्यक्ष श्रवण देव, प्रेस युनियनका अध्यक्ष बिनय कर्ण, प्रेस मंचका अध्यक्ष भुषण सिंह, साहित्य परिषद्का वर्तमान कार्यसमिति उपाध्यक्ष राजकुमार लाल दास, सदस्य राजिव झा, गजेन्द्र मंडल, युवा नेता निरज मुक्ती, प्रतिमा देव, सप्तरी युथका कार्यवाहक अध्यक्ष मोहन यादव लगायतका वक्ताहरुले शोक मन्तव्य राखे । कार्यक्रममा परिषदका कार्यसमिति सदस्य रवि राय, रमिला साह, मैथिली साप्ताहिक पत्रिकाका सम्पादक जितेन्द्र झा लगायत राम्रो संख्यामा मैथिली प्रेमीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रम परिषदकी सहसचिव ललिता झाले संचालन गरेकी थिइन् ।
स्वर्गीय झा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पूर्व कोषाध्यक्ष, मैथिली मिडिया प्रालीका अध्यक्ष, मैथिली अभियानी तथा समाजसेवी थिए ।