क्रान्ति केन्द्र सम्वाददाता
काठमाण्डाै । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रुपैयाँको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले चालु आवका साउन, भदौ, असोज र कात्तिकमा एक अर्ब ३६ करोड १२ लाख युनिट बिजुली निर्यात गरी १२ अर्ब ५० करोड आठ लाख रुपैयाँ आम्दानी गरेको छ ।
बिजुली निर्यात गएकाे आव २०७९/८० को यो अवधिको तुलनामा चार अर्ब ८६ करोड ४४ लाख रुपैयाँले बढी हो । गएकाे आवको पहिलो चार महिनामा प्राधिकरणले ९८ करोड ३८ लाख युनिट बिजुली निर्यात गरी सात अर्ब ६३ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
प्राधिकरणले साउनमा दुई अर्ब १४ करोड ७६ लाख, भदौमा तीन अर्ब ४७ करोड ८५ लाख, असोजमा चार अर्ब १७ करोड ७७ लाख र कात्तिकमा दुई अर्ब ६९ करोड ७० लाख रुपैयाँको बिजुली निर्यात गरेको छ । चार महिनाको समग्र औसत बिजुली बिक्री दर प्रतियुनिट नाै रुपैयाँ १८ पैसा छ । गएकाे वर्ष यही अवधिको समग्र औसत बिक्री दर प्रतियुनिट सात रुपैयाँ ७६ पैसा थियो ।