क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । लैङ्गिक हिंसा नियन्त्रणका लागि बुधबार जिल्लामा १९ सदस्यीय लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल गठन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) गजु सिद्धि बज्राचार्यको अध्यक्षतामा बसेको वैठकले १९ सदस्यीय लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल समिति गठन गरेको प्रहरी नायव उपरीक्षक शिव शर्माले जानकारी दिए ।
प्रहरी उपरिक्षक बज्राचार्यको संयोजकत्वमा गठित समितिमा जिल्ला प्रशासन कार्यालयका अधिकृत भिमराज बस्नेत, मानव अधिकारको क्षेत्रमा कार्यरत प्रतिनिधिबाट इन्सेक सप्तरी प्रतिनिधि मनोहर कुमार पोखरेल, जिल्ला बार एकाईबाट अध्यक्ष रामप्रसाद चौधरी, उद्योग बाणिज्य संघबाट अध्यक्ष लालु अग्रवाल, नागरिक समाजबाट अध्यक्ष थानसिंह भन्साली, गैसस महासंघ सप्तरीका अध्यक्ष दिपक झा, प्याब्सनका अध्यक्ष अरुणकुमार देव, स्थानीय विद्यालयबाट पब्लिक विन्देश्वरी माध्यमिक विधालय राजविराजका प्रधानाध्यापक मोहन मिश्र चयन भएको छ ।
यसैगरी सामुदायिक सेवा केन्द्रबाट अध्यक्ष धिरेन्द्रकुमार दास, जिल्ला स्तरिय समुदाय प्रहरी साझेदारी समितिबाट अनिता देवकोटा, सञ्चार क्षेत्रबाट नेपाल पत्रकार महासंघका सदस्य दिनानाथ यादव, सुरक्षित आवास गृह सञ्चालन गरिरहेको गैससबाट सबिता न्यौपाने, लैङ्गिक हिंसा क्षेत्रमा कार्यरत गैससबाट सबल नेपालका परमेश्वर झा, न्याय क्षेत्रमा कार्यरत महिलाबाट अधिवक्ता साधना कर्ण, जिल्ला बाल क्लबबाट अध्यक्ष सलमा खातुनलाई चयन गरिएको छ । सदस्य सचिव (पदेन) मा महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रहरी निरीक्षक अवधेश कुमार यादव रहेका छन् ।
लैङ्गिक हिंसाका घटनाहरू तत्काल सम्बोधन गर्न कार्ययोजना बनाई प्रभावकारी कार्यान्वयन गर्ने, लैङ्गिक हिंसा न्यूनीकरण तथा नियन्त्रणका लागि स्थानीय श्रोतको पहिचान तथा परिचालन गर्ने, लैङ्गिक हिंसा न्यूनीकरणका लागि पीडितलाई सेवा प्रदान गर्ने एवम् जनचेतनामूलक कार्य गर्ने र सम्बन्धित निकाय, गैरसरकारी निकायहरूसँग समन्वय र सहकार्य गर्ने सञ्जालको उद्देश्य रहेको जनाइएको छ ।