क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । जनता समाजवादी पार्टी(जसपा)को उमेश प्रसाद यादवको अध्यक्षतामा गठित सप्तरी जिल्ला कार्यसमितिले सपथ ग्रहण गरेका छन् ।
बुधबार जसपाका मधेश प्रदेश समिति प्रतिनिधि परशुराम यादवले उनीहरूलाई राजविराजको राधाकृष्ण मन्दिर प्राङ्गणमा सपथ ग्रहण गराएको छ ।
कार्यक्रममा जसपाकी केन्द्रीय सदस्य तथा पुर्वमन्त्री प्रमुख रेणु यादव, पार्टीको राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साह, राजनीतिक समिति सदस्य विनोद चौधरी, केन्द्रीय सदस्य दिपक कुमार यादव टुटु बाबु, जसपा नेता शम्भु झा लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
जिल्ला कार्यसमितिबाट १५ सदस्यीय जिल्ला कार्यकारिणी समिति गठन समेत गरिएको जनाइएको छ । समितिमा अध्यक्ष उमेश प्रसाद यादव तथा सदस्यहरु निलेश कुमार झा,दयानन्द गोइत, निरज मुक्ति, सुचिता यादव ,संजय मिश्र, उमेश यादव, गुलजारी देवी यादव, जिवछ मंडल, शक्ति यादव, ब्रम्हदेव साह, राम सागर यादव, चन्द्र नारायण यादव, श्यामनन्दन चौधरी (दिलिप), गन्शु चौधरी रहेको जिल्ला कार्यकारिणी समिति सदस्य निलेश झाले जानकारी दिए ।
उक्त सपथ ग्रहण पछि बसेको जिल्ला कार्यसमितिको पहिलो बैठकले पार्टीका मधेश प्रदेश मुख्य सचिव दिनेश यादवलाई कारवाही गर्न सिफारिस गर्ने निर्णय गरेको जिल्ला समितिका अध्यक्ष उमेश प्रसाद यादवले जानकारी दिए।
स्थानीय तथा प्रदेश, प्रतिनिधि सभा निर्वाचनमा गुटउपगुट गरी गरेको असहयोगले पार्टी धरापमा परेको भन्दै उनलाई कारबाही गर्न सिफारिस गर्न निर्णय गरिएको उनले बताए ।
‘गत स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा प्रदेशको मुख्य सचिव जस्तो गरिमामय तथा जिम्मेवारीपुर्ण पदमा रहेर आफ्नै पार्टीका नेतालाई हराउन अग्रसर थिए,’ उनले भने, ‘स्थानीय तह निर्वाचनमा छिन्नमस्ता, राजविराज, तिलाठी कोइलाडी लगायत सप्तरीको बिभिन्न स्थानीय तहमा आफ्नो पार्टीका प्रत्याशीलाई हराउन लागि परेका थिए, गुट उपगुट गरेर पार्टीलाई नै सखाप पार्न लागि परेका छन्, त्यसैले कारबाही गर्न सिफारिस गर्ने निर्णय गरेको छौँ।’
विगतमा जिल्ला पार्टीको अवस्था अघिल्लो स्थानमा रहेको भन्दै केदार यादवको अपरिपक्वताका कारण जिल्लामा पार्टीको अवस्था खस्किएको आरोप लगाएका छन् । उनीहरूले केदार यादव नेतृत्वको जिल्ला कार्यसमिति विघटन भएको भन्दै केदार यादवलाई पार्टीको लेटर प्याडको दुरुपयोग नगर्न चेतावनी समेत दिने जनाएको छ ।
नव गठित जिल्ला कार्यकारिणी समितिले आउँदो पौष मसान्त भित्र सबै स्थानीय तहमा पालिका कमिटी गठन विघटन र पुनर्गठन गर्ने समेत जनाएको छ ।