क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । देशकै प्रसिद्ध शक्तिपिठहरु मध्ये एक सप्तरीको छिन्नमस्ता गाउँपालिका-३ सखडास्थित छिन्नमस्तामा यस पटक विशेष ढंगले दिपावली मनाइएको छ।
दिपावलीको अवसरमा आइतबार छिन्नमस्ता भगवती मन्दिर प्राङ्गणमा दियोले राष्ट्रिय नक्सा तथा राष्ट्रीय झन्डा निर्माण गरिएको थियो।
राष्ट्रिय नक्सा तथा झण्डा बनाउन ५ हजार १ सय दियो बालिएको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले बताए ।
चौधरीले राष्ट्र हित तथा एकताको कामना गर्दै दियोले नक्सा तथा झण्डा बनाइएको बताए ।
उक्त कार्यक्रममा पालिका अध्यक्ष चौधरी, सप्तरीको प्रमुख जिल्ला अधिकारी किरण थापा, अनुसन्धानका एसपी, नेपाली सेनाका प्रमुखले संयुक्त रुपमा दियो बालेर कार्यक्रम उद्घाटन गरेको पालिका अध्यक्ष चौधरीले बताए ।