क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । जनता समाजवादी पार्टी नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले पार्टी विरोधी गतिविधिमस संलग्नहरुमाथि कारबाही गर्ने बताएका छन् ।
शनिबार पत्रकार सम्मेलन गर्दै उनले पार्टीमा बसेर अन्तरघात गर्ने नेताकार्यकर्तामाथि कारबाही हुने बताए ।
कार्तिक २२ गते पार्टीका जिल्ला उपाध्यक्ष उमेश कुमार यादवको अध्यक्षतामा गठन गरेको समितिको सन्दर्भमा बोल्दै उनले भने, ‘केहि व्यक्तिहरुले कार्यकर्तालाई झुक्याएर गुटको भेला गरि अबैधानिक समिति गठन गरि घोषणा गरेको छ, उक्त कार्य जसपाको विधान विपरित र पार्टी विरोधी हो, हिजो बसको जिल्ला कार्यसमितिको बैठकले उनीहरुमाथि छानबिन गरि कारबाही गर्ने सर्वसम्मत निर्णय गरिएको छ ।’
उनले पहिलो चरणमा उनीहरूसँग सपष्टीकरण सोध्ने बताएका छन् ।
उनले जिल्लाबाट कारबाही हुनेलाई जिल्लामै कारवाही गरिने तथा प्रदेश र केन्द्रीय नेताको हकमा कारवाही गर्न सिफारिस गर्ने बताए ।
पत्रकार सम्मेलनमा पार्टीका जिल्ला उपाध्यक्ष हरेराम यादव, उपसचिव शम्भु कुमार यादवलगायतका जिल्ला स्तरीय नेताकार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो ।
जसपा असन्तुष्ट पक्षका भेलाले पार्टीको केही शिर्ष नेताहरूको उपस्थितिमा कार्तिक २२ गते पार्टीका जिल्ला उपाध्यक्ष उमेश कुमार यादवको अध्यक्षतामा ५७ सदस्यीय समिति घोषणा गरेको थियो ।