क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवविरुद्ध दायर पुनः मतगणना मुद्दामा अदालतले दावी नपुगेको फैसाला सुनाएको छ ।
उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीशद्वय हरिप्रसाद भण्डारी तथा जगत वहादुर थापाको इजलासले बुधबार सुनवाई गर्दै उक्त फैसला सुनाएका हुन् ।
गत स्थानीय तह निर्वाचन पश्चात ०७९ जेठ १० गते नेपाली काँग्रेसबाट सोही पालिकाका अध्यक्ष प्रत्यासी रहेका सत्रुधन प्रसाद साहले अध्यक्ष यादव, स्थानीय तह निर्वाचन मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेका थिए । उनले मतगणना रद्द गरि दोहोर्याएर मतगणना गर्न माग गरेका थिए ।
फैसला पश्चात क्रान्ति केन्द्रसँगको कुराकानीमा पालिका अध्यक्ष यादवले न्याय पाएको बताए । ‘अदालतले न्याय गरेको छ, जनताले दिएको मतको कदर भएको छ, अदालतले जनताले दिएको मतलाई पुनः अनुमोदन गरेको छ।’