क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । अटोमेटिक पेस्तोल र नगद रुपैयाँसहित सप्तरीका तीनजना सिराहबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको सुरुंगा नगरपालिका-८ का ३२ वर्षीय अनिल राम, वडा नं ५ का ३० वर्षीय जिवानन्द चौधरी र खड्क नगरपालिका-४ का ३५ वर्षीय सञ्जयप्रसाद चौधरी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
गोप्य सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले सोमबार लहान नगरपालिका-१ सिंगराहीमा चेकजाँचको क्रममा पेस्तोलसहित उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरू सवार स. ९ प. ४९७१ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा ९ एमएमको अटोमेटिक पेस्तोल एक थान, सोको म्याग्जिन एक थान, दुई राउन्ड गोली बरामद गरेको जनाइएको छ ।
उनीहरूको साथबाट एक लाख ८४ हजार दुई सय ५३ रुपैयाँ नगद, विभिन्न कम्पनीका चार थान मोबाइल सेट, नेपाल टेलिकमको २२ थान सिमकार्ड, एनसेलको १४ थान सिमकार्ड, चार लाख ६४ हजार पाँच सय रुपैयाँको विभिन्न कम्पनीको रिचार्ज कार्डसमेत बरामद गरिएको जनाइएको छ ।
पक्राउ परेका तीनैजना आपराधिक गतिविधिमा संलग्न रहेकाे बुझिएको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।