क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१४ डलवा रम्पुरामा जनता समाजवादी पार्टी नेपालको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
सोमबार आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथी नेपाल सरकारको पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले जसपाले मधेशीलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिएको बताइन् । ‘जसपाकै कारण संघीयता आएको छ, जसले नेपालमा मात्र नभई अन्तरराष्ट्रिय स्तरमा मधेशीको पहिचान गराएको छ,’ उनले भनिन्, ‘यसको लागि सयौं मधेशीले सहादत दिएको छ, मधेशी रुपमा हाम्रो पहिचान हुनु गर्वको कुरा हो ।’
त्यस्तै मधेश प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र साहले मधेश बिद्रोह र सयकडौं व्यक्तिको सहादतले स्थापना भएको संघीयतालाई केही ब्यक्ती र पार्टीहरुले समाप्त पार्न खोजिरहेको बताए ।
‘अहिले धर्म र जातीको नाममा संघीयता समाप्त पार्न केही व्यक्ति तथा पार्टीहरुले खेल खेलिरहेको छ,’ उनले भने, ‘यो संघीयता कुनै पार्टीले मात्रै ल्याएको होइन, सम्पूर्ण मधेशी जनताले ल्याएको संघीयता हो, संघीयता समाप्त भयो भन्ने फेरि मधेसी सयकडौं बर्ष पछाडी पर्ने छ ।’
सोही वडाका वडा अध्यक्ष कृष्ण कुमार यादबको अध्यक्षामा भएको कार्यक्रममा जसपा नेता शम्भु झा, निरज मुक्ती, तारकेश्वर यादव लगायतका उपस्थिति रहेको जसपा तिलाठी कोइलाडी गाउँपालिकाका सचिव शिवनाथ यादवले जानकारी दिए ।